पथरी । मोरङको कोनेपोखरी–७ स्थित शुक्रबारेको ‘भलुवा सिमसार’लाई पूर्वकै नमूना पर्यटकीय गन्तव्य स्थल बनाउने कामअघि बढेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालको पहलमा मन्त्रालयबाट भलुवा सिमसार विकासका लागि ५ करोड रकम विनियोजन भएपछि नमूना पर्यटकीय गन्तव्य स्थल निर्माण गर्न लागेको हो । 

बजेटले दुई वर्षभित्र काम सम्पन्न हुने गरी काम सुरु गरिने वडा नं. ७ का वडाध्यक्ष मोहनप्रसाद अधिकारीले बताए । यो भलुवा सिमसारले पोखरीबाट उत्तर तीन किलोमिटर माथिको पूर्वपश्चिमको सडक सिमसार तथा जलाधारले भेट्ने भएकोले क्रमशः यसको क्षेत्र फराकिलो हुनेछ । यस क्षेत्रलाई पर्यटकीय स्थल कस्तो बनाउने भनेर गाउँपालिकाले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) निर्माण गरिसकेको छ । अब डिपिआरकै आधारमा काम हुने वडाध्यक्ष अधिकारीले बताए । वन क्षेत्रभित्र एक स्थानबाट अर्को स्थानमा जान साइकिलिङको पनि योजना रहेको छ ।

वन्यजन्तुका लागि सानो चिडिया खान, ट्रि हाउस, कटेज, पोखरीको बीचभागमा जाने पुलको निर्माण, पाहुना घर, सभाहललगायत निर्माण हुनेछ । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने र वनको समग्र विकासका लागि वन आसपासका जलाधार तथा पानीको मुहान संरक्षण गर्ने, वन्यजन्तु संरक्षणका लागि वन्यजन्तु आवास निमाण गर्ने तथा होमस्टे पनि सुरु गर्ने वडाध्यक्ष अधिकारीले बताए ।

ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रभित्र रहेको तल्लो भागमा मात्र करिब १४ हेक्टर जमिनमा सिमसार क्षेत्र फैलिएको छ । २०६६ सालमा वन उपभोक्ता समितिले संरक्षणमा चासो देखाउँदै आएको थियो । पूर्व–पश्चिम राजमार्गको कानेपोखरी चोकदेखि करिब तीन किलोमिटर दक्षिणमा रहेको सिमसार तथा जलाधार क्षेत्र भलुवा सिमसार रहेको छ । 

उतिखेर तत्कालीन वन समितिका अध्यक्ष हरि पौड्यालले भलुवा सिमसार क्षेत्रलाई वनको भावी कार्ययोजनामा समेटी १० वर्षमा पूर्वकै प्रमुख पर्यटकीय गन्तव्य स्थल बनाउने घोषणा गरेका थिए । उतिखेर बजेट अभावको कारण काम हुन भने सकेको थिएन ।

पूर्वकै नमूना गन्तव्य स्थल निर्माण गर्न सके गाउँपालिका कै प्रमुख स्रोत हुनेछ । भलुवा सिमसार तथा जलाधार क्षेत्रबाट निस्किएको पानीले कानेपोखरीको वडा नं. ७, ६ र ४ सम्म करिब १ हजार बिघाभन्दा बढी जमिनमा सिंचाइ हुँदै आएको छ ।