धरान । हङ्कङमा बस्ने नेपालीहरूले कोरोनाभाइरसविरुद्धको एक लाख डोज खोप नेपालमा पठाउने तयारी गरेका छन् । 

हङ्कङ नेपाली महासंघले जेठ १० गते बैठक बस्दै नेपाललाई एक लाख डोज खोप, व्यक्तिगत सुरक्षा उपकरण –पीपीई), मास्क, चार सय थान अक्सिजन सिलिन्डर पठाउने भएको हो । ‘हेल्प नेपाल कोभिड १९’ नामक भेला गर्दै नेपालमा चिनियाँ खोप (भेरोसिल्ड) खरिद गरेर पठाउने तयारी गरेको हो । उक्त खोप, पीपीई, मास्क, अक्सिजन नेपाल सरकारलाई पठाउने निर्णय गरिएको हङ्कङ नेपाल महासंघका अध्यक्ष टंक रानाले जानकारी दिए । चारसय थान अक्सिजन कन्सन्ट्रेटर पठाउने तयारी गरेको हो । 

हङ्कङमा रहेका नेपालीहरुले रकम संकलन गरी सामग्री खरिद गर्ने भएको छ । अध्यक्ष टंक राना, पूर्वअध्यक्ष प्रदीप थापा, र रीता गुरुङको विशेष पहलमा बसेको भेलाले खरिद तथा ढुवानी खर्च गर्ने तयारी गरेको छ । 

एनआरएनए हङ्कङ, जनजाति महासंघ, वाणिज्य संघलगायत भेलामा सहभागी रहेका थिए । त्यस्तै लकडाउनका कारण हङकङ आउन रोकिएका विद्यार्थी तथा बिरामीलाई पनि ल्याउन पहल गरिरहेको अध्यक्ष रानाले बताए । 

जेठ १५ गते महासंघ र हङ्कङ सरकारका पदाधिकारीहरुबीच बसेको छलफलले नेपालमा तत्कालै चारसय थान अक्सिजन कन्सन्ट्रेटर पठाउने निर्णय गरिएको छ । यसै साता दुई सय थान नेपाल पठाउने तयारी भएको नेपाल हेल्प कोभिड १० कार्यक्रमकी संयोजक तथा पूर्वअध्यक्ष रीता गुरुङले बताइन् ।

२५ केजी तौल भएको उक्त अक्सिजन नेपालका ७७ वटै जिल्लास्थित जिल्ला स्वास्थ्य अस्पताललाई वितरण गर्नका लागि नेपाल सरकारसँग अनुरोध गरिने अध्यक्ष रानाले बताए ।