धरान । झापा र पाँचथरमा आइतबार भएको छुट्टाछुट्टै दुर्घटनामा २ को मृत्यु भएको छ भने दुईजना सामान्य घाइते बनेका छन् । 

झापाको शिवसताक्षी नगरपालिका ९ दूधेस्थित भित्री सडकखण्डमा एक मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । 

दूधे बजारतिर आउँदै गरेको अवस्थामा मे १२ प २३८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा शिवसताक्षी ६ का ४० वर्षीय जीवनकुमार दर्जीको ज्यान गएको हो । मोटरसाइकल दुर्घटना हुँदा उनी गम्भीर घाइते बनेका थिए । उनलाई तत्कालै झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचारको लागि पठाइए पनि राति २०ः२० बजे मृत्यु भएको झिलझिलेस्थित ट्राफिक प्रहरी पोष्टले जनाएको छ । 

मादक पदार्थ सेवन गरी तीव्र गतिमा मोटरसाइकल रहेकाले अनियन्त्रित हुन पुगेको प्रहरीले जनाएको छ । मोटरसाइकल इलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा रहेको छ ।

त्यस्तै झापाको दमक नगरपालिका २ आम्दा अस्पताल अगाडिको भित्री सडकमा एक मोटरसाइकल बाटोको छेउमा पार्किङ गरेर राखेको लहरीमा ठोक्किदा चालक गम्भीर घाइते बनेका छन् । 

मे ५ प ५१७३ नम्बरको मोटरसाइकल कालिका कन्ट्रक्सन कम्पनीको ना १ क ५३५९ नम्बरको लहरीमा ठोक्किन पुग्दा सोही ठाउँका ३२ वर्षीय आशिष ढकाल गम्भीर घाइते बनेका हुन् । प्रहरीका अनुसार उनको टाउँको र दुवै पातोमा गम्भीर चोट लागेको छ । उनलाई उपचारको लागि विराटनगरस्थित नोबेल मेडिकल कलेजमा पठाइएको छ । 

लहरी र चालक मकवानपुर उपमहानगरपालिका १७ हेटौडाका ४० वर्षीय रामकुमार विकलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ । उक्त घटनामा पनि मोटरसाइकल तीव्र गतिमा रहेका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । 

त्यस्तै पाँचथरको फिदिम नगरपालिका ३ सुमिना चोकमा एम्बुलेन्स आफै अनियन्त्रित भई सडकबाट १० मिटर तल खस्दा एक महिलाको ज्यान गएको छ । प्र १–०१–००१ च ७७०६ नम्बरको एम्बुलेन्स अनियन्त्रित भई खस्दा फिदिम २ स्थित याङ्बरककी ५० वर्षीया ममता राईको मृत्यु भएको हो । 

उनी गम्भीर घाइते बनेकी थिइन् । उनलाई जिल्ला अस्पताल पाँचथरमा उपचारको लागि पठाइएको थियो । तर, उपचारको क्रममा आइतबार साँझ ४ बजेतिर निधन भएको हो । उक्त घटनामा सोही ठाउँका १९ वर्षीय हेमन्त सुब्बा, ताप्लेजुङ सिदिङ्वा ३ का ५५ वर्षीय डोडकुमार राई सामन्य घाइते बनेका छन् । 

एम्बुलेन्स चालक पाँचथर हिलिहाङ २ का २८ वर्षीय वीरेन्द्र धिताललाई जिल्ला प्रहरी कार्यालय पाँचथरले नियन्त्रणमा लिएको छ । घटनास्थल जिल्ला प्रहरी कार्यालयबाट करिब १४ किलोमिटर दक्षिणमा रहेको छ । घटना तीव्र गतिका कारण भएको प्रहरीले जनाएको छ ।