विराटनगर÷ मोरङको सुन्दरहरैंचा नगरपालिका ३ लोचनीका २३ वर्षीय पुजन राईले सामान्य विषयमा विवाद हुँदा छिमेकी दाइको हत्या गरेको खुलेको छ ।

करिब चार महिनाअगाडि ‘साइको’ भनेको विषयलाई लिएर पुजनले ४० वर्षीय बिष्णु ऋषिदेवलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको मोरङ प्रहरीको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको छ । हत्या आरोपमा पक्राउ परेका राई र मृतक ऋषिदेव छिमेकी हुन् ।

पुजनले बिष्णुलाई दाइ भनेर सम्बोधन गर्ने गरेको स्थानीय बताउँछन् । उनीहरूको एक सय मिटरको दूरीमा घर रहेको छ । गत बिहीबार राति धारिलो हतियार दाउ (बाम्फक) ले ऋषिदेव सुतेको अवस्थामा घाँटीमा प्रहार गरी हत्या गरेको अवस्थामा भेटिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।

हत्या आरोपमा पक्राउ परेका राई मानसिक समस्या भएका युवा भएको प्रहरी बताउँछ । केही दिनयतादेखि औषधी सेवन पनि गर्दै आएको परिवारले जनाएको छ । तर उनी कुन अवस्थाको समस्याबाट गुज्रिदै आएका थिए भन्ने विषयमा खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । विष्णुले करिब चार महिनाअगाडि ‘साइको’ भनेकाले त्यही रिस फेर्न हत्या गरेको बयानको क्रममा बताएको प्रहरीले जनाएको छ । 

यसरी भयो हत्या 

बिष्णु ऋषिदेव मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका थिए । उनको श्रीमतीको मृत्यु भइसकेको छ । त्यही कारण लामो समययता दुई छोराहरू मामा घरमा बस्दै आएका छन् । विष्णु बिहीबार दिउँसो १ बजे घरछेउको होटलमा गएर मदिरा सेवन गरेका थिए । त्यसपछि साँझ भाइको घरमा खाना खाएर ८ बजे घरमा आएर सुतेको प्रहरीले बताएको छ । 

विष्णु सुतेपछि पढ्दै गरेका पुजन उठेर रातको ११ बजे भान्सामा रहेको बाम्फक झिकेर विष्णुको घरमा पुगेको प्रहरीले अनुसन्धानको क्रममा खुलेको छ । विष्णु कोल्टो अवस्थामा पश्चिम फर्केर सुतेका बेला घाँटीमा सुजनले तीनपटक धारिलो हतियार दाउले हानेर हत्या गरेको बयानमा प्रहरीलाई बताएका छन् । 

हत्या पछि दाउ धोए

विष्णुको हत्या पछि दाउ र पेन्टमा रगत पखालेर दाउ भान्सा कोठामा राख्छन् र  साढे १२ बजेपछि सुत्छन् । 

सबेरै उठ्ने विष्णु शुक्रबार बिहान नउठेपछि स्थानीय उनकोे घरमा पुगेका थिए । खाट रगताम्य देखेपछि स्थानीयले प्रहरीलाई खबर गर्दछन् । तत्काल इलाका प्रहरी कार्यालय बेलबारीको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गर्दछन् । घटनाको अनुसन्धान गर्दै जादा विष्णुको हत्यामा सुजनको संलग्न देखेपछि इप्रका बेलबारीले शुक्रबार ८ बजे घरबाट उनलाई पक्राउ गरेको हो । पक्राउ परेका  सुजनलाई इप्रका बेलबारीले ‘कर्तब्य ज्यान’ मुद्दामा म्याद थप गरी अनुसन्धान गर्दै आएको डिएसपी राईले जानकारी दिए ।