धरान पानवारीस्थित सेहरा खोलामा नदीजन्य सामग्री उत्खननमा विवाद उत्पन्न भएको छ । स्थानीय सरकार धरान उपमहानगरपालिकाले लगाएको ठेक्का डिभिजन वन कार्यालय सुनसरीले अवरोध गरेको हो । 

कागजात नपुगेको भन्दै हतियारसहितका वन रक्षक डिभिजन कार्यालय सुनसरीले उत्खनन् स्थलमा पठाएको छ । यता धरान उपमहानगरपालिकाले खोला उत्खनन् गर्न पाउनुपर्ने भन्दै नगर प्रहरी उत्खनन् स्थलमा पठाएको छ । 

शुक्रबार उपमहानगर र डिभिजन वन कार्यालयका कर्मचारीबीच हतियार खोसाखोस भएको पानवारी सामुदायिक वनका पदाधिकारीले जानकारी दिएका छन् । 

‘पहिले पनि खोला उत्खनन् गर्न नदिने उद्देश्यले उपभोक्ताले लाठो मुंग्रो पनि गरेकै  हो, तर स्थानीय सरकारले ठेक्का लगाएपछि नगर उपप्रमुखले नगर प्रहरी परिचालन गरी उत्खनन् नरोक्न उर्दी जारी गर्नुभएको छ,’ एक स्थानीय उपभोक्ताले भने, ‘हिजो हातहतियार खोसाखोस भयो, झण्डै झडपको अवस्था आएको थियो ।’

डिभिजन वन कार्यालयमा सबै डकुमेन्ट नभएको भन्दै सेउती र सेहरालगायतका खोलामा नदीजन्य सामग्री उत्खनन् नगर्न आग्रह गरेको छ । आग्रहलाई अटेर गरेपछि हतियार सहितका वन रक्षक खोलामा पठाएको छ ।

वन कार्यालयले सामुदायिक वनलाई समेत खोला उत्खनन् रोक्न निर्देश गरेको छ । ‘उपभोक्ता भेला पारेर उत्खनन् रोक्न वन कार्यालयले भन्छ, यता स्थानीय सरकारले प्रहरी पठाएर खोला उत्खनन् गराउँछ, सामुदायिक वनका उपभोक्ता बीचमा परेका छौं,’ एक उपभोक्ताले भने, ‘हामीलाई पनि खोला उत्खनन् गर्ने बारे आधिकारिक पत्र आएको छैन,  आइइ रिपोर्ट अनुसार कति परिणाममा कहाँदेखि कहाँसम्म खोला उत्खनन् गर्ने हो जानकारी छैन ।’ 

ठेकेदार कम्पनी पाथीभरा निर्माण सेवा इटहरीले ठेक्का सम्झौता गरेर खोला उत्खनन् गरिरहेको छ । स्थानीय उपभोक्ताका अनुसार दुवै खोलामा गरी डेढ–दुई सय मान्छे छन् । कोभिड संक्रमणका बेला खोलाबाटै संक्रमण गाउँमा फैलने चिन्ता उपभोक्ताको छ । 

ठेकेदार कम्पनीका प्रतिनिधि ठेकेदार अर्जुन भण्डारी आफैं कोभिड संक्रमित भएको स्थानीयले बताएका छन् । ‘ठेकेदारलाई कोरोना लागेको छ त्यही पनि खोलामा छन्, त्यहीँबाट कोरोना सर्न सक्छ, उनको नेगेटिभ भएको खबर हामीले पाएका छैनौं ।’ एक उपभोक्ताले भने । 

उपभोक्ताले काम बन्द गर्न अनुरोध गर्दा समेत सयौं मान्छे खोलामा भेला भएका छन् । 'कोभिडका बेला मान्छे जम्मा गर्न भएन नि, फेरि यता वन कार्यालयबाट काम रोक्न आउन उपभोक्तालाई उर्दी जारी भएको छ, यस्तो बेला कम्तीमा पनि पचास जना मान्छे कसरी उपस्थित गराउनु ? ' सामुदायिक वनका एक पदाधिकारीले भने ।  

उनका अनुसार आजै वन कार्यालयबाट हतियारसहितका कर्मचारी आएर पुनः खोला उत्खनन् बन्द गराउने योजना रहेको सामुदायिक वनका पदाधिकारीले जानकारी दिएका छन् ।