धरान । साहसिक पर्यटनका गतिविधि बढिरहेको धरानमा प्याराग्लाईडिङ अवतरण स्थल निर्माण सुरु भएको छ । 

धरान उपमहानगरपालिका वडा नं. १४ मा पर्ने सेउती बगरमा प्याराग्लाईडिङ अवतरण स्थल निर्माण सुरु भएको हो । सङ्घीय सरकारले धरानको प्याराग्लाईडि उडान तथा अवतरण स्थल निर्माणका लागि ३० लाख रुपैयाँ सुरुवाती बजेट छुट्याएको थियो । सरकारले बजेट छुट्याएपछि धरान–१४ वडा समितिको निर्णय र सरोकारवाला निकायसँग समन्वय गरि निर्माण कार्य सुरु गरिएको प्याराग्लाईडिङ तथा ह्याङग्लाईडिङ सङ्घ १ नम्बर प्रदेश समितिका अध्यक्ष भुपेन्द्र चाम्लिङ राई (भुपाल)ले बताए ।

प्याराग्लाईडिङ उडान तथा अवतरण स्थलको गत वैशाख २५ मा १ नम्बर प्रदेश सरकारका आर्थिक मामिला मन्त्री टङ्क आङ्बुहाङले शिलान्यास गरेका थिए । 

d

प्याराग्लाईडिङ अवतरण स्थल निर्माणका लागि उपभोक्ता समिति गठन गरेर धरान १४ को सेउती बगरमा पर्ने ऐलानी जग्गामा अवतरणस्थल निर्माण थालिएको हो । अवतरणस्थल निर्माण पछि उडान स्थलका पनि पूर्वाधार निर्माण गरिने प्रदेश समिति अध्यक्ष राईले बताए । उडान र अवतरणस्थलको सम्पूर्ण निर्माण कार्य गर्न करिब १३ करोड लाग्ने उनले बताए । उनले भने, ‘प्याराग्लाईडिङ स्थल निर्माणमा सरकारले नै लगानी गरेको यो देशमै पहिलो पटक हो । यो निर्माण भएपछि प्याराग्लाईडिङको महत्वपूर्णस्थल बन्ने निश्चित छ ।’

यसअघि प्राईभेट कम्पनीहरुले धरानमा प्याराग्लाईडिङ गराइरहेका छन् । 

Landting Image (2)

प्याराग्लाईडिका लागि धरान–४ वडा समितिले गढीथुम्किमा १ विघा र धरान–१४ वडा समितिले ५ विघा ४ कट्ठा जग्गा सिफारिस गरेपछि उपमहानगरले स्विकृति प्रदान गरेको थियो । गढीथुम्किमा उडान स्थल र सेउती बगरमा अवतरणस्थल निर्माणका लागि स्पेक्ट्रम इञ्जिनियरिङ कन्सल्टेन्सी प्रालि धरानले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेको छ । सोहि डिपिआर अनुसार अवतरणस्थलको निर्माण सुरु भएको हो ।

डिपिआर बनाउने स्पेक्ट्रमका सञ्चालक सव–इञ्जिनियर सुमन श्रेष्ठका अनुसार अवतरणस्थलमा प्रसासनिक कार्यालय भवन, आकर्षक बगैंचा, कफि सप, पानीको फोहोरा र ग्लाईडको आकारमा चौतारा लगायतका संरचना निर्माण हुनेछन् । त्यस्तै उडान स्थलमा पनि कफि सपसँगै अन्य भौतिक संरचना निर्माण गरिने छ । उनले भने, ‘यो डिपिआर अनुसार निर्माण भए धरानको लागि नयाँ तर महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्ने छ भने आम्दानीको पनि राम्रो स्रोत बन्न सक्छ ।’ 

Landting Image (6)

Takeoff Image (1)

Takeoff Image (5)