धरान । धरान ४ मा सडेको अवस्थामा बुधबार फेला परेको बेवारिसे शवको पहिचान भएको छ । 

वैशाख ७ गतेबाट हराइरहेका धरान ५ देउरालीका २५ वर्षीय प्रदीप सुब्बाको शव रहेको उनका आफन्तले पहिचान गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । इप्रका धरानका इन्स्पेक्टर हेमराज ओलीका अनुसार प्रदीपका बुबा र बहिनीले शवको पहिचान गरेका थिए । 

मृतक प्रदीप धरान ४ निसाने डाँडा क्षेत्रमा चैत १७ गतेसम्म काम गरेर फर्किएका थिए । धरान ५ घर भए पनि धरान ८ स्थित बहिनीको घरमा बस्दै आएका थिए । इन्स्पेक्टर ओलीका अनुसार कामका लागि बोलाएको छ भन्दै उनी घटनास्थल भएको क्षेत्रमा गएका थिए । त्यसयता नआएपछि उनको खोजी भइरहेको थियो । तर, बुधबार निगुरो टिप्न गएकी एक महिलाले देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । 

मान्छे तथा गाईबस्तु हिँड्ने पुरानो गोरेटो बाटो भएकाले पनि उक्त क्षेत्रमा मानिसको पहुँच एकदमै कम हुने गरेकाले घटनाबारे यसअघि जानकारी नभएको बताइन्छ । शव पूर्णतः कुहिएको अवस्थामा फेला परेको थियो । शवको पहिचान हुन नसके पनि प्रहरीले मुचुल्का गरी बुधबार नै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरीमा पोष्टमार्टमका लागि ल्याइएको इन्स्पेक्टर ओलीले जानकारी दिए । 

तर बिहीबार आफन्तले पहिचान गरेका थिए । घटनाको विषयमा अनुसन्धान भइरहेको जनाइएको छ । घटना के कति कारणले भएको हो भन्ने यकिन तथ्य खुल्न केही समय लाग्ने बताइएको छ ।