बालिका बलात्कारको घटनालाई लिएर प्रकाशित भइरहेका समाचार र सामाजिक सञ्जालका टिकाटिप्पणीप्रति सुनसरी प्रहरीले आपत्ति जनाएको छ । 

उसले घटना अनुसन्धान जारी रहेको अवस्थामा बाहिर उठान गरिएका विषयलाई एकतर्फी भनेको छ । 

सुनसरी प्रहरीले प्रेस विज्ञप्ति जारी गर्दै अनुसन्धान जारी रहेको अवस्थामा अनर्गल प्रचारबाजी भएको प्रति असन्तुष्टि जाहेर गरेको छ । 

सुनसरी प्रहरीद्वारा जारी प्रेस नोटमा भनिएको छ , ‘बालिका बलात्कारी जोगाउन नेतादेखि प्रहरीसम्म सक्रिय भन्ने शीर्षक र सोही आशयका समाचार विभिन्न संचार माध्यममा आएको प्रति प्रहरीको गम्भीर ध्यानाकर्षण भएको छ ।’ 

विज्ञप्तिमा भनिएको छ, ‘संचारमाध्यमका साथै सामाजिक सञ्जालको प्रयोग गरी एकतर्फी उठान गरिएका विषयले समग्र प्रहरी संगठनप्रति समाजमा नकारात्मक असर पर्न जाने यथार्थलाई मनन गरी सही सत्य सूचना सम्प्रेषण गर्नु मुनासिब हुनेछ ।’ 

प्रहरीले विज्ञप्तिमार्फत् घटना अनुसन्धान र भइरहेको प्रगतिका बारे जानकारी लिनु परे प्रहरी कार्यालयमा सम्पर्क राखी बुझ्न सकिने समेत जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नरेन्द्रकुमार कार्कीले बालिका बलात्कार घटनामा प्रहरीले अनुसन्धान जारी राखेको र सो घटना सम्वन्धमा निकै उपलब्धि समेत हात लागेको बताएका छन् ।  

कार्कीका अनुसार घटना अनुसन्धान र पक्राउका लागि प्रहरी निरीक्षक सुवास भट्टराईको कमाण्डमा ४ सदस्यीय अनुसन्धान तथा पक्राउ टोली गठन भई कार्य भैरहेको छ । 

रात्रि विवाहमा सहभागी एक बालिका वैशाख १८ गते बलात्कारमा परेकी थिइन् । बलात्कारमा संलग्न पक्राउ नपरेको र मुद्दा कमजोर बनाउन खोजिएको जस्ता विषय उठान गरी प्रहरी लक्षित आरोप लागि रहँदा जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रेस नोट जारी गरेको हो । 

कार्यालयले प्रेस नोटमार्फत् प्रहरी कसैको दबाबमा नआउने भन्दै घटनाका दोषी उपर कडा कारबाहीको लागि प्रतिबद्ध रहेको स्पष्ट पारेको छ ।