संखुवासभा । निषेधाज्ञाका बेला अत्यावश्यक सामाग्री बिक्रीको नाममा मदिरा र सुर्तीजन्य पदार्थ बेच्ने तीनजना व्यापारीको सामान नियन्त्रणमा लिइएको छ । 

खाँदबारी नगरपालिकाले बुधबार बजार अनुगमन गर्ने क्रममा सामग्री नियन्त्रण लिएको हो । क्रिस स्टोर्स एन्ड सप्लायर्स, सन्देश किराना पसल मानेभञ्ज्याङ र पाथीभरा स्टोर्सले बिक्री गरेको जुत्ताचप्पल, टुबोर्ग बियर, गुट्खा, चुरोट, खैनी, तासलयागतका सामाग्री नियन्त्रणमा लिएको हो । 

खाँदबारी नगरपालिका उपप्रमुख डेगेश्वरी श्रेष्ठको नेतृत्वमा भएको अनुगमनमा खाँदबारीको टुंडिखेलबाट उक्त सामाग्री नियन्त्रणमा लिएको हो । ट्याक्टरमा सामान लोड गरिरहेका ती सामाग्रीहरु भोजपुरको साल्पासिलिछो गाउँपालिका ३ को किरात किराना पसललाई उनीहरुले बिक्री गरेका थिए । बाहिरपट्टि खाद्यान्न राखेर भित्री भागमा मदिरा र सुर्तीजन्य सामाग्री राखिएको सूचनाका आधारमा अनुगमन समितिले १२ कार्टुन टुबोर्ग बियर, चुरोट, तास, गुट्खालगायतका सामाग्री फेला पारेको थियो । 

ट्याक्टरमा सामान लोड गर्दै गर्दा प्रशासन र प्रहरीको सहायतामा सामाग्री बरामद गरिएको अनुगमन समितिका संयोजक तथा खाँदबारी नगरपालिकाकी उपप्रमुख डेगेश्वरी श्रेष्ठले बताइन् । कानूनअनुसार छानबिन गरेर गरी कारबाही गरिने उपप्रमुख श्रेष्ठले बताइन् । संखुवासभामा यतिबेला  जिल्ला प्रशासन कार्यालयले १२ जेठसम्म निषेधाज्ञा जारी गरेको छ । बिहान ७ देखि ९ र बेलुकी ४ देखि ७ बजेसम्म अत्यावश्यक सामाग्री बिक्री तथा खरिदका लागि समय तोकिएको छ ।