विराटनगर/सामान्य घर झगडाको विषयलाई लिएर मोरङको रंगेलीमा देवरले आफ्नै भाउजुको बीभत्स तरिकाले हत्या गरेको खुलेको छ ।

रंगेली नगरपालिका–३ की २४ वर्षीय अनिता यादवको हत्या आफ्नै देवर १९ वर्षीय बिनोद यादवले गरेको प्रहरीको प्रराम्भिक अनुसन्धानबाट खुलेको हो । प्रारम्भिक अनुसन्धानका क्रममा हत्यामा बिनोदको संलग्नता देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।

arrest_stab

यसरी गरे भाउजुको हत्या

मङ्गलबार दिउँसो घरमा देवर भाउजुबीच सामान्य विषयमा विवाद भएको थियो । विवादपछि बेलुका साढे सात बजे महिला घरबाट श्रीमान् बेचन यादवलाई खोज्न भन्दै घरदेखि उत्तरतर्फ लागेकी थिइन् । उनलाई पछ्याउँदै देवर बिनोद पनि पछि–पछि लागेका थिए । ‘घरदेखि उत्तर करिब ढेड किलोमिटरमा नहरको डिलमा पुगेपछि देवर बिनोदले भाउजु अनितलाई ढकालिदिए । भाउजु नहरमा लडिन् र बिनोदले अनिताको घाँटीमा धाँरिलो हतियार दाउ प्रयोग गरी हत्या गरेको प्रराम्भिक चरणको अनुसन्धानबाट खुलेको छ,’ मोरङ प्रहरीका प्रमुख एसपी खड्काले ब्लाष्टसँग भने । 

हत्या पछि भाउजु खोज्न दाजुसँगै

प्रहरीका अनुसार भाउजुको मंगलबार राति करिब ८ बजेको समयमा हत्या गरेपछि बिनोद दाउ बोकेर घर पुगेका थिए । हत्या गरेको पत्तो पाउने भएकोले रगत लतपतिएको दाउ पानीले धोएपछि घरमा राखे । रातिसम्म अनिता घर नआएपछि उनका श्रीमान् बेचन श्रीमती खोज्न हिँडे । बिनोद पनि भाउजु खोज्न दाजुसँग गएका थिए । उनीहरूले रातभरि अनितालाई नेभेटेपछि बिनोद राति घर गई सुते । बिहान झिसमिसमा घरदेखि उठेर उनी फरार भए । स्थानीयले बुधबार बिहान अनिताको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

हत्यापछि फरार रहेका बिनोदलाई प्रहरीले घरबाहिर रंगेली बजारमा लुकेर बसेको अवस्थामा बुधबार बिहान ८ बजे पक्राउ गरेको एसपी खड्काले जानकारी दिए । भाउजुको हत्या गरेको १२ घण्टापछि प्रहरीले हत्यामा संलग्न भएको आरोपमा देवर बिनोदलाई पक्राउ गरेको हो । ‘यस घटनामा थप अनुसन्धान भइरहेको छ,’ एसपी खड्काले भने, ‘प्रराम्भिक चरणको अनुसन्धानमा अनिताको हत्यामा देवर बिनोदको संलग्नता देखिएको छ । अनुसन्धानपछि अरू पनि खुल्न सक्नेछ । अहिले हामी अनुसन्धानको क्रममा छौं  ।’ 

हत्या अरोपमा पक्राउ परेका बिनोद अविवाहित हुन् । अनिताको बेचनसँग करिब दुई वर्षअगाडि विवाह भएको थियो । विवाह पछि भाउजु, दाजु, बुबासँग सामान्य विषयलाई लिएर बिनोद झगडा गर्दै आएको प्रहरी अनुसन्धानले देखाएको छ । बिनोदले यसअघि पनि बावु र आमालाई पनि कुटपिट गर्ने गरेका थिए । उनी झगडिया प्रकृतिका रहेको प्रहरीले जनाएको छ ।