भण्टाबारी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालीका क्षेत्रबाट  लागूऔषधसहित चारजना युवा पक्राउ परेका छन् ।

सीमा सिल गरिएको बेलासमेत भारतीय बजारबाट लुकाइछिपाइ नेपालमा प्रतिबन्धित लागूऔषध ल्याउदै गर्दा उनीहरूलाई सशस्त्र प्रहरी बल बिओपी लौकहीबाट परिचालित टोलिले मंगलबार मध्यरातमा नियन्त्रणमा लिएको हो ।

भोक्राहा नरसिंह गाउँपालीका वार्ड नम्बर ६ बस्ने वर्ष १६ का रघुनन्दन मण्डल, वर्ष १७ का शिवनन्दन मण्डल र वर्ष १८ का बिरेन्द्रकुमार यादवले भारतीय बजारबाट ५२ बोतल प्रतिबन्धित लागूऔषध कोरेक्ष ल्याउदै गरेको अवस्थामा नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल बिओपी लौकहीका इन्स्पेक्टर अरुण पाण्डेले जानकारी दिए ।

त्यसैगरी मंगलबार राति नै लुकाइछिपाइ को २६ प ७८९६ नम्बरको सुपर स्पलेन्डर मोटरसाइकलमा १५ बोतल कोरोक्ष र १० पत्ता नाइट्रोजन ट्याबलेट ल्याउदै गर्दा इटहरी उपमहानगरपालिका वार्ड नम्बर ९ बस्ने वर्ष ३२ का आशिषकुमार यादव पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बल बिओपी लौकहीबाट खटिएको टोलिले उनलाई भोक्राहा नरसिंह गाउँपालीका ६ स्थित खुनियाधार पूर्व पश्चिम लोकमार्गबाट पक्राउ गरेको हो ।

लागूऔषधसहित पक्राउ परेका युवाहरूलाई सशस्त्र प्रहरीले आवश्यक कानुनी कारबाहीको लागि नेपाल प्रहरीको जिम्मा लगाएको छ ।

कोरोना महामारीका कारण सीमा नाका सिल गरिएपनि लागूऔषध ओसारपसार गर्ने गिरोह सक्रिय रहेका छन् ।