विराटनगर/इबोला भाइरसका लागि निर्मित रेमडेसिभिर अस्पतालहरुमा एजेन्टमार्फत् कालोबजारी हुने गरेको पाइएको छ ।

विराटनगरका निजी अस्पताल अगाडि सञ्चालित फार्मेसीहरुले रेमडेसिभिरको कालोबजारी गरिरहेका हुन् । एजेन्टमार्फत् रेमडेसिभिर इन्जिेक्सनमा कालोबजारी हुँदै आएको हो । औषधि व्यवस्था विभागका अनुसार रेमडेसिभिर इन्जेक्सनको मुल्य ४ हजार ९ सय रुपैयाँ तोकिएको छ । तर, महामारीको फाइदा उठाउँदै १५ हजारदेखि २५ हजार रूपैयाँसम्ममा बिक्री गर्दै आइरहेका छन् । 

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले करिब ६ महिनाअघि नै कोभिड–१९ को उपचारमा ‘रेमडेसिभिर’ उपयुक्त नभएको जनाएको छ । तर, नेपालमा भने चिकित्सकले सिफारिस गरेपछि ‘ज्यान जोगाउने आशमा’ बिरामीका आफन्तले महँगो मूल्यमा खरिद गर्ने गरेका छन् । 

रेमडेसिभिरलाई कोभिड–१९ को उपचारमा जीवनरक्षकका रूपमा नभई आपत्कालीन स्थितिमा प्रयोग गर्न मञ्जुरी दिइएको छ । 

लुकाएको २४ भाइल रेमडेसिभिर भेटियो

मोरङको बूढीगंगा गाउँपालिका–२ विराट टिचिङ्ग हस्पिटलभित्रको फार्मेसीमा लुकाएर राखिएको अवस्थामा २४ भाइल रेमडेसिभिर इन्जिेक्सन भेटिएको छ । 

औषधि व्यवस्था विभाग विराटनगर र मोरङ प्रहरीले अनुगमनको क्रममा २४ भाइल फेला परेको हो । फार्मेसीका बिमल कार्कीलाई पक्राउ गरिएको छ । प्रहरीले आवश्यक प्रमाण जुटाएर कार्कीलाई कालोबजारी ऐनअन्तर्गत मुद्दा चलाइने तयारी गरिएको छ । अनुगमनको क्रममा लुकाएर राखिएको अवस्थामा २४ भाइल रेम्डिेसिभिर इन्जिेक्सन भेटिएको औषधी व्यवस्था विभाग विराटनगरका प्रमुख सन्जिव शर्मा कट्टेलले जानकारी दिए । 

यसअघि विराटनगरमा नक्कली रेमडेसिभिर इन्जेक्सन बनाएर बिक्री गर्ने समूहलाई पनि प्रहरीले पक्राउ गरेको थियो । विराटनगर–४ नोबेल टिचिङ्ग हस्पिटल अगाडिको ‘साथी फार्मेशीका’ संचालक विराटनगर १० का सोनु आलम र उनका सहयोगी विराटनगर १६ का श्रवणकुमार यादवलाई पक्राउ गरेको थियो ।