इनरुवा/ किशोरी बलात्कारको अभियोग लागेका भोक्राहा नरसिंह गाउँपालिका प्रमुख महेन्द्रप्रसाद यादवलाई पूर्पक्षको लागि थुनामा पठाइएको छ ।

जिल्ला अदालत सुनसरीले अध्यक्ष यादव उपरको मुद्दामा पूर्पक्षको लागि थुनामा पठाउने आदेश गरेको हो । जिल्ला न्यायाधीश टिकेन्द्र दाहालको इजलासले यादवलाई पूर्पक्षको लागि झुम्का कारागार पठाउने आदेश सुनाएको श्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले जानकारी दिए । 

श्रेस्तेदार पोखरेलका अनुसार जबरजस्ती करणी सम्वन्धि मुद्दा दर्ता भई लिइएको बयान र थुनछेक बहस पश्चात अदालतले यादवलाई पूर्पक्षका लागि झुम्का कारागार पठाउने आदेश गरेको हो । 

भोक्राहाका अध्यक्ष यादव बैशाख ८ गते धरान भेडेटार लाइनको डुकु होटल एण्ड लजबाट किशोरी सहित रंगेहात पक्राउ परेका थिए ।

पक्राउ परे लगत्तै पीडित पक्षले यादव विरुद्ध जबरजस्ती करणीको मुद्दामा जाहेरी दिएको थियो । किशोरी स्वयंले समेत आफुमाथि यादवले जबरजस्ती करणी गरेको बयान दिएकी थिइन् ।

किटानी जाहेरी पश्चात इलाका प्रहरी कार्यालय धरानले अदालतबाट म्याद थप गर्दै घटनाको अनुसन्धान पुरा गरेको थियो ।

२४ दिने अनुसन्धान अवधि पुरा गरी प्रहरीले मिसिल जिल्ला सरकारी वकिल कार्यालय इनरुवामा बुझाएको थियो । सोही मिसिलका आधारमा अभियोग पत्र तयार पारी सरकारी वकिलको कार्यालयले अदालतमा यादव विरुद्धको मुद्दा दर्ता गराएको थियो ।

अध्यक्ष यादवको फैसला के आउने भन्ने विषय सर्वत्र चासोको विषय बनिरहेको अवस्थामा आर्थिक चलखेलको विषय समेत बाहिरिएको थियो । किटानी जाहेरी दिएकी पीडितकी कान्छी आमा स्वयं अध्यक्षको बचाउमा लागेकाले समेत आर्थिक चलखेलको कुरो बाहिरिन पुगेको थियो ।

अभिभावक बनेर किटानी जाहेरी दिएकी आमाले बोली फेर्दै छोरीमाथि बलात्कार नभएको र यादवलाई झुटा आरोप लगाइ प्रहरीले गैरन्यायिक हिरासतमा राखेको भन्दै उच्च अदालत बिराटनगरमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् । यद्यपि उक्त रिट भने उच्चले खारेज गरी दिएको थियो ।