उर्लाबारी नगरपालिकाले शुक्रबारदेखि दुर्गापुरीस्थित राजघाट स्वास्थ्य चौकीमा कोभिड आइसोलेसन सेवा शुभारम्भ गरेको छ ।

कोभिडको दोस्रो लहरसँगै नगरमा संक्रमितको संख्या वृद्धि हुन थालेपछि नागरिकको स्वास्थ्य सुरक्षाको लागि अक्सिजनसहितको आइसोलेशन शुरु गरिएको नगर प्रमुख खड्ग फागोले बताए ।

शुक्रबार नगर प्रमुख फागो, उपप्रमुख लक्ष्मीदेवी भण्डारी, सम्बन्धित वडाका वडाध्यक्ष कुलबहादुर कार्की, वडाध्यक्ष चिन्तामणी पौडेलले उक्त आइसोलेशन सेन्टरको संयुक्त रुपमा उद्घाटन गरे । 

संक्रमित भएका नागरिकलाई स्वास्थ्य, यातायात, खाद्यान्नसहितका सबै सेवा निःशुल्क प्रदान गरिने नगर प्रमुख फागोले बताए । शुरुमा ११ बेडबाट शुरु गरिएको र आवश्यकता अनुसार क्षमता वृद्धि गर्ने उनको भनाइ छ । 

नगरमा संक्रमणको दोस्रो लहरले आधा दर्जन नागरिकको ज्यान लिइसकेको छ भने करिब एक सयको हाराहारीमा सङ्क्रमित रहेका स्वास्थ्य शाखाले जनाएको छ ।