डीसीसीएमसीको बैठकले कोरोना संक्रमणको दर बढ्दो क्रममा देखिएको भन्दै १५ दिनका लागि जिल्ला ठप्प पार्ने निर्णय गरेको छ । 

सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले दिएको जानकारी अनुसार सो अवधिमा औषधि बाहेकका कुनै पनि पसल खोल्न दिइने छैन । 

जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले अत्यावश्यक बाहेकका अन्य सवारीका साधन संचालनमा पूर्ण रोक लगाउने समेत निर्णय गरेको छ ।

प्रजिअ ढकालका अनुसार अत्यावश्यक सेवाका कार्यालयका कर्मचारीको हकमा बिहान र बेलुकी आउजाउ गर्ने समयमा मात्र छुट दिइने छ । 

बैशाख ३१ गतेबाट लागू हुने गरी पूर्ण कडाइ गर्न लागिएको प्रशासनले त्यसयता आवश्यक सरसामान जोहो गर्न समेत सुझाएको छ । उसले स्वास्थ्यका मापदण्ड पालना गरी सरसामान जोहो गर्न भनेको छ । 

प्रशासनले परिस्थिति भयावह बन्दै गएकाले जिल्ला ठप्प पार्ने निर्णयमा पुगिएको जनाएको छ । उसले जेठ १५ सम्म सुनसरी ठप्प पारिने जनाएको छ ।