वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख सङ्क्रमितको मनोबल बढाउन भेटघाटमा निरन्तर दोस्रो दिन पनि घरघरमा पुगेका छन् । उनले सङ्क्रमितको अवस्थाबारे जानकारी समेत लिंदै आएका छन् । 

स्वास्थ्यकर्मी, मनोपरामर्शदाता, फलफूल र पौष्टिक आहारसमेत लिएर घरघर पुग्ने र सङ्क्रमितको मनोबल उच्च बनाउने अभियान नगर प्रमुख खनालले आइतबारदेखि सुरु गरेका छन् । 

दोस्रो दिन पनि मोटरसाइकल चढेर नगर प्रमुख खनाल सङ्क्रमितको घरदैलोमा पुगे । नगर प्रमुख खनालसहितको टोलीले वराहक्षेत्र ७ स्थित सप्तकोशी क्याम्पसको आइसोलेसनमा मृत्यु भएका ७२ वर्षीय उपेन्द्र बस्नेतको परिवारलाई भेटेर समवेदना व्यक्त गरे ।

कोरोना सङ्क्रमणको दोस्रो लहरका बेला बराहक्षेत्रमा ३४ जना सक्रिय सङ्क्रमित पुगेको नगरको तथ्याङ्क छ । 

यस अघि नगरले मेयर खनाल र प्रमुख प्रशासकीय अधिकृतले चढ्दै आएको गाडी वैकल्पिक एम्बुलेन्सका रुपमा प्रयोग गर्ने निर्णय गरेको थियो । सो निर्णयपछि नगर प्रमुख खनाल मोटर साइकलमा चढेर सङ्क्रमित नागरिकका घरघरमा पुगिरहेका छन् । 

नगरले जिल्लामै पहिलो पटक ५० शैय्याको आइसोलेसन स्थानीय सप्तकोशी बहुमुखी क्याम्पसमा निर्माण गरिसकेको छ । 

Barahakshetra_Mayor_Motorbike_Corona