विजयपुर/ प्रदेश–१ मा दोस्रो लहरको कोरोनाबाट सङ्क्रमित निको हुने दर ८१ प्रतिशत रहेको पाइएको छ ।

वैशाख २५ गतेसम्म १ नं. प्रदेशमा जम्मा ३५  हजार ७ सय ३२ जना सङ्क्रमण पुष्टि भएको थियो । उक्त दिन आइसोलेसनमा ६ हजार ७९ जना रहेका थिए भने ५ सय ४ जनाको मृत्यु भएको थियो । २९ हजार १ सय ४९ जना डिस्चार्ज भएका थिए । यो कुल सङ्क्रमितको ८१ दशमलव ५७ प्रतिशत हो ।

२४ गतेसम्ममा ३५ हजार १ सय ७७ जनामा सङ्क्रमण पुष्टि भएको थियो । उक्त दिन आइसोलेसनमा ५ हजार ५ सय ८० जना सङ्क्रमित रहेका थिए भने २९ हजार ९७ जना डिस्चार्ज भए । अर्थात् ८२ दशमलव ७१ प्रतिशत निको भएका थिए ।

वैशाख २३ गतेसम्म ३४ हजार ४ सय ९३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये आइसोलेसनमा ४ हजार ९ सय ३९ जना  थिए भने ४ सय ९५ जनाको मृत्यु भएको थियो । २९ हजार ५९ जना डिस्चार्ज भएका थिए । यो ८४ दशमलव २४ प्रतिशत हो ।

१ नं. प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको कोभिड–१९ निगरानी, तथ्याङ्क सङ्कलन तथा अनुगमन समिति सचिवालयका संयोजक डा. रविन्द्र निरौला प्रदेशभरमा औषतमा ८१ प्रतिशत सङ्क्रमित डिस्चार्ज हुने गरेको बताउँछन् । उनले दैनिक केही तलमाथि हुने गरेको पनि बताए ।

उनले मुलुकभर ७७ दशमलव ४ प्रतिशत सङ्क्रमित डिस्चार्ज हुने गरेको बताएका छन् । मुलुकभरमा भन्दा प्रदेश १ मा निको हुने दर धेरै रहेको  पनि उनले जानकारी दिए ।

यता धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेता भने धरानमा ९८ प्रतिशतभन्दा बढी निको भएको बताउँछन् ।