विराटनगर / आकर्षक ब्याज दिने भन्दै जम्मा गरेको करोडौं रूपैयाँ लिएर मोरङ, उर्लाबारीका एक जना सुनचाँदी व्यापारी फरार भएका छन् ।

उर्लाबारी नगरपालिका–६ डिबी मार्गमा रहेको गौतम सुनचाँदी पसलका सञ्चालक राजेश भनिने गोपाल गौतम यहाँका तीन सयजना बढी सर्वसाधारणले ब्याजमा लगाएको १२ करोड रुपैयाँभन्दा बढी रकम लिएर फरार भएका हुन् ।

व्यापारी गौतमले सुनचाँदी पसलमा आएका ग्राहकहरूलाई बैङ्क र सहकारीले दिनेभन्दा आकर्षक ब्याज दिने प्रलोभनमा पारी ब्याजमा लगाएको रकम लिएर लामो समयदेखि फरार भएको पीडितहरूले बताएका छन् । गौतमको सुनचाँदी पसलमा १ लाखदेखि २० लाख रुपैयाँसम्म ब्याजमा लगाउने सर्वसाधारण रहेका छन् । उनीहरूले गौतमको पसलमा आएर पैसा जम्मा गरेपछि पासबुक दिने गरेका थिए ।

तीनसय भन्दा बढीले ब्याजमा लगाएको रकम लिएर गौतम फरार भएपछि पीडितहरू जम्मा गरेको पैसा फिर्ता गराउन जनप्रतिनिधिदेखि स्थानीय प्रशासनसम्म हारगुहार गरिरहेका छन् । उर्लाबारी–१ टपुका पदम भण्डारीले १४ लाख ६५ हजार ६ सय २० रुपैयाँ गौतमको सुन पसलमा २ रुपैयाँ ब्याज पाउने सर्तमा जम्मा गरेका थिए । उनले उक्त रकम जम्मा गरेपछि गौतमले पासबुक दिएका छन् ।

मजदुरी गरेर परिवार पाल्दै आएका भण्डारीले घर बनाउने पैसा ब्याजमा लगाएका हुन् । ‘खाई नखाई कमाएको पैसा राम्रो ब्याज आउने भएपछि नियमित कारोबार गर्दै आएको नजिकको साथीको सुन पसलमा ब्याजमा लगाएको थिएँ’ भण्डारीले भने, ‘सुरुवातमा ब्याज पनि दिइयो । त्यसपछि कारोबार राम्रो गर्ने रहेछ भनेर १४ लाख ६५ हजार ६ सय २० रुपैयाँ जम्मा गरेँ । मेरो मात्र होइन, वृद्ध भइसक्नुभएकी आमाको सामाजिक सुरक्षा भत्ता १ लाख ५० हजार रुपैयाँ थियो । त्यो पनि गौतमको पसलमा ल्याएर ब्याजमा लगाएको थिएँ । अहिले गौतम फरार छन् ।’

दुःख गरेर आर्जेको पैसा लिएर गौतम फरार भएपछि समस्या आइलागेको उनले बताए । ‘दिनरात नभनी दुःख गरेर आर्जेको पैसा घर बनाउने सपना थियो । खाई नखाई जम्मा गरेको पैसा लिएर फरार भएपछि अहिले समस्या परेको छु’ उनले भने, ‘ब्याजमा लगाएको पैसा उठाउन सबै निकायमा पुगिसकेँ । अहिलेसम्म उठाउन सकेको छैन ।’

भण्डारीकै बहिनी उर्लाबारीकी मञ्जु कार्कीले पनि गौतम सुनचाँदी पसलमा २ प्रतिशत ब्याजमा २ लाख २५ हजार रुपैयाँ निक्षेप राखेकी थिइन् । ब्याज आउने समयमा सावाँ र ब्याज लिन जाँदा व्यापारी गौतम फरार भएको उनले बताइन् । तीन सयभन्दा बढीले बचत गरेको रकम लिएर गौतम गत साउनमा फरार भएको पीडितहरूको भनाइको छ ।

३ सयभन्दा बढी सर्वसाधारणको १२ करोडभन्दा बढी रकम लिएर गौतम फरार भएपछि राजेश गौतम पीडित पहल समूह बनाएको छ । सो समितिको अध्यक्ष गजेन्द्र दङ्गाल रहेका छन् । उनीहरू अहिले बचत गरेको पैसा फिर्ता ल्याउन र दोषीलाई कारबाही गराउन स्थानीय प्रशासनदेखि जनप्रतिनिधि र सरोकारवालाहरूसँग पुगेका छन् । उनीहरूले जिल्ला प्रशासन कार्यालय हुँदै मोरङ प्रहरीमा सुनचाँदी व्यापारी गौतमविरुद्ध ठगी मुद्दा दर्ता गराएको दङ्गालले बताए । ‘उजुरी दिएको लामो समय भइसक्यो । अहिलेसम्म गौतम पक्राउ परेका पनि छैनन् र सम्पर्कमा आएका छैनन् ।’

गौतमको नाममा ५२ कित्ता जग्गा
सर्वसाधारणको करोडौं रुपैयाँ लिएर हिँडेका गौतमको परिवारको नाममा ५२ कित्ता जग्गा रहेको खुलेको छ । उनको नाममा २६ र श्रीमती चित्रकुमारी गौतमका नाममा २४ कित्ता विभिन्न ठाउँमा जग्गा रहेको खुलेको पीडित भण्डारीले बताए । ‘अहिले सबै जग्गा मालपोत कार्यालयमा गएर रोक्का गरिएको छ’ पीडित भण्डारीले भने, ‘हामी पीडितहरूले पैसा नपाउन्जेल सबै निकायमा पुगेर न्यायको ढोका ढक्ढकाउँदै आएका छौं ।’

मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले पीडितहरूले उजुरी दिएकोले फरार भएका गौतमको खोजी कार्य र अनुसन्धान  भइरहेको बताए । गौतमले सर्वसाधारणको करोडौं रुपैयाँ लिएर जग्गामा लगाएको पीडित परिवारको आरोप छ ।

यसअघि पनि ऋणका लागि ग्राहकले धितोमा राखेको सुनचाँदी लिएर मोरङका एक सुन पसले बेपत्ता भएका छन् । मोरङको बूढीगङ्गा गाउँपालिकामा ‘चन्दा ज्वेलर्स’ नामको सुन पसल सञ्चालन गरिरहेका चन्दन स्वर्णकार र उनकी श्रीमती सङ्गीता धितोमा राखिएको सुनचाँदी लिएर भागेका हुन् । उनीहरूले बोक्ने गरेको मोबाइल फोन स्विच अफ छ । दुवैले आ–आफ्नो फेसबुक डिएक्टिभ गरेका छन् ।

पीडितका अनुसार गाउँपालिकाका ३ सयभन्दा बढी ग्राहकले ‘चन्दा ज्वेलर्स’ मा सुनचाँदी धितो राखेर ऋण लिएका थिए । पीडितहरूले जिल्ला प्रहरी कार्यालयमा चन्दन र सङ्गीताका विरूद्ध किटानी जाहेरी दर्ता गरेका छन् । यस्तै विराटनगरबाट पनि यसअघि २ वर्ष पहिले ओमलक्ष्मी ज्वेलर्सका शिशु बेगबानी पसल बन्द गरेर यसैगरी सपरिवार भागेका थिए । प्रहरीले उनको पत्ता हालसम्म लगाएको छैन । शिशु र उनको कम्पनी तथा परिवारमा रहेको सबै घरजग्गा बैङ्कले लिलाम गरिसकेको छ ।