धरान / बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बिरामीको चाप बढेर गएको छ । आइतबार बिहानको तथ्याङ्कअनुसार बीपी प्रतिष्ठानमा १ सय १४ बिरामी भर्ना भएका छन् । यो तथ्याङ्क यही वैशाख १ गते यताको हो ।

प्रतिष्ठानका सह–प्रवक्ता डा. चूडामणि पोखरेलका अनुसार प्रतिष्ठानबाट हालसम्म कोरोना जितेर (पूर्णरूपमा निको भएर) १२ जना घर फर्केका छन् । एकसठ्ठी जना कोभिड अस्पतालमा उपचाररत रहेका छन् ।

हालसम्म १८ जनाको ज्यान गएको सह–प्रवक्ता पोखरेलले जानकारी दिए । एक सय शय्या क्षमता भएको प्रतिष्ठानमा निको भएर घर फर्कनेको सङ्ख्या पनि बढेर  गएको छ ।

दश जना पूर्ण रूपमा निको भएर घर फर्केका छन् । तेइस जना आइसियु र अक्सिजन शय्याबाट जेनेरल शय्यामा स्थानान्तरण भई होम आइसोलेसनमा बस्ने गरी घर फर्केका सह–प्रवक्ता पोखरेलले बताए ।

‘अस्पतालले कोरोना नेगेटिभ भएर फर्केकालाई मात्र निको भएको मान्ने गरेको छ, तर आइसियुमा बस्ने र अक्सिजन शय्यामा बसेर सामान्य भएर घर फर्कनेको सङ्ख्या बढेको छ’ डा. पोखरेलले भने, ‘हाम्रो क्षमताले भ्याएसम्म सङ्क्रमितलाई सेवा दिइरहेका छौँ, हालसम्म कुनै सङ्क्रमितलाई फर्काउनु परेको छैन ।’

सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा पछि भने समस्या हुने उनको भनाइ छ । सङ्क्रमितलाई प्रतिष्ठानमा ल्याउँदा अस्पतालसँग समन्वय गरेरमात्र ल्याउन उनले आग्रहसमेत गरेका छन् ।

त्यसका लागि डा। इन्द्र लिम्बू र डा। विकास साहलाई फोकल पर्सनका रूपमा अस्पतालले तोकेको उनले  जानकारी दिए ।

समन्वय नगरी सङ्क्रमित ल्याउँदा कतिपयलाई आइसियु शय्या वा अक्सिजन चाहिने हुन सक्छ तर, यहाँ खाली नहुन सक्छ । त्यस्तो बेलामा जटिलता उत्पन्न हुने भएकाले उनीहरूसँग समन्वय गरेर मात्र सङ्क्रमितलाई प्रतिष्ठानमा ल्याउन प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा.गौरीशङ्कर साहले आग्रह गरे । यही बैशाख २५ गतेसम्म प्रतिष्ठानको कोभिड अस्पतालमा एक हजार ३ सय ३८ जना भर्ना भएका थिए ।

नौ सय ९९ जना पूर्ण निको भएर घर फर्केका थिए भने १ सय ३९ जनाको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानको ल्यावमा ८० हजार ३ सय ३२ जनाको पीसीआर परीक्षण गरिएको छ । आठ हजार ५ सय २६ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको प्रतिष्ठानको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिष्ठानमा प्रदेश १ र २ का केही जिल्लाबाट पीसीआर परीक्षणका लागि स्याम्पल आउने गरेको छ । प्रतिष्ठानले विशेषज्ञ चिकित्सक, कन्सल्ट्याण्टसहितको चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी कोभिड अस्पतालमा खटाएको छ ।

दुई सिफ्ट बनाएर २५ जनाको दरले जनशक्ति खटाइएको निर्देशक साहले जानकारी दिए ।