वराहक्षेत्र नगरपालिकाको चक्रघट्टीस्थित सप्तकोशी बहुमुखी क्याम्पसमा रहेको आइसोलेसनमा आज एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
वराहक्षेत्र १० का ७२ वर्षीय उपेन्द्र बस्नेतको मृत्यु भएको आइसोलेसन इञ्चार्ज तथा नगर स्वास्थ्य शाखाको अहेब प्रमोद यादवले जानकारी दिए ।
अहेब यादवका अनुसार श्वासप्रश्वासको समस्या भएका उनी आजै आइतबार बिहान साढे ११ बजे आइसोलेसनमा भर्ना भएका थिए । दमका बिरामी समेत रहेका उनलाई आइसोलेसनमा अक्सिजन दिएर राखिएको थियो ।
सोही अवस्थामा आज साँझ ७ बजेर २० मिनेटमा बस्नेतको मृत्यु भएको हो ।
मृतकको स्वास्थ्य अवस्थालाई उद्धृत गर्दै अहेब यादवले जानकारी दिएअनुसार संखुवासभाबाट आएका मृतक बस्नेतले वैशाख २० गते धनकुटामा पीसीआर गरेका थिए । आइसोलेसनमा बस्नका लागि उनी आज बिहानै मात्रै ११ः३० मा भर्ना भएका थिए ।