विराटनगरमा सञ्चालित तीन वटा कोभिड अस्पतालहरूको शैय्या दोस्रो लहरमा फैलिएको कारोना सङ्क्रमितले भरिएका छन् । 

विराटनगरस्थित कोशी अस्पतालको कोभिड उपचार केन्द्र, नोबेल मेडिकल कलेज र विराट टिचिङ हस्पिटलको कोभिड अस्पतालको शैय्या कोरोना सङ्क्रमित बिरामीले भरिएको हो । 

अस्पतालमा रहेका आइसियूसहितको भेन्टिलेटर पनि भरिएपछि सङ्क्रमित बिरामीहरूले पालो कुर्नु पर्ने अवस्थामा आएको छ । नोबेल शिक्षण अस्पतालले वैशाख दोस्रो सातामा ६० वटा शैय्याबाट कोभिडको उपचार सुरु गरेको छ । केही दिनमै बिरामीको चाप बढ्न थाल्यो । त्यसलाई बढाएर १०० शैय्या पुर्यायो । त्यतिले पनि अस्पताल खोज्दै आउने सङ्क्रमितहरुलाई उपचार दिन नसक्ने अवस्था भयो ।

स्वास्थ्य मन्त्रालयको स्वीकृतिबिना नै अस्पतालले केही शैय्या थप्यो । मन्त्रालयले १०० शैय्याको कोभिड अस्पताल सञ्चालन अनुमति दिएको भए पनि अस्पतालले जनशक्ति र बिरामीको चापलाई ध्यानमा राखेर बुधबारदेखि कोभिड उपचार केन्द्रको क्षमता बिस्तार गरेर १९२ वटा पु¥यायो । शुक्रबार दिउँसोसम्म अस्पतालमा १६२ जना सङ्क्रमित उपचाररत रहेकोमा शनिबार बिहानसम्म अस्पतालका सबै १९२ वटा शैय्या भरिएका छन् ।

‘अहिले पनि अस्पतालमा आइसियू र भेन्टिलेटर खोजी गर्दै टेलिफोन गर्नेहरु धेरै छन्,’ अस्पतालका प्रबन्धक नारायण दाहालले भने, ‘हामी आइसियू त हैन साधारण बेड पनि दिन नसक्ने अवस्थामा छौं ।’ अक्सिजन मात्र लगाएर भए पनि बिरामी राखिदिनु भन्ने अनुरोध गर्नेहरुलाई पनि सेवा दिन कठिन भएको उनले बताए ।

नोबेल शिक्षण अस्पतालमा कोरोना सङ्क्रमितको उपचारको लागि ३९ बेडको आइसियू छ । आइसियूका सबै बेडमा बिरामी छन् । त्यसमध्ये १० वटा भेन्टिलेटर प्रयोग भइरहेका छन् । आइतबार सबै भेन्टिलेटरमा बिरामी रहेको प्रबन्धक दाहालले बताए । उनी भन्छन् ‘हामीसँग भेन्टिलेटर र आइसियू सबैमा बिरामी छन् । बिरामीको चाप बढेपछि स्वास्थ्य मन्त्रालयसँग ३०० शैय्याको कोभिड अस्पताल सञ्चालन गर्न प्रस्ताव गरेका छौं, तर, स्वीकृति आइसकेको छैन ।’

मन्त्रालयले स्वीकृति दिएको खण्डमा केही दिनभित्रै ३०० बेडको कोभिड उपचार केन्द्र सञ्चालनमा ल्याउने र आइसियू बेडको सङ्ख्या पनि बढाउन तयारी अवस्थामा रहेको प्रबन्धक दाहालले जानकारी दिए । 

नोबेलमा सिराहा, सप्तरीलगाायतका जिल्लाबाट पनि कोभिड उपचारका लागि बिरामीहरु आएका छन् । प्रबन्धक दाहालका अनुसार काठमाडौंमा आइसियू र भेन्टिलेटर अभाव भएपछि हेलिकप्टर चार्टर गरेर बिहीबार दुई जना बिरामी उपचारका लागि नोबेल आएका छन् ।

विराटनगर नजिकै बुढीगंगा गाउँपालिकामा सञ्चालित विराट मेडिकल कलेजले १२० शैय्याको कोभिड अस्पताल वैशाख दोस्रो साताबाट सञ्चालनमा ल्याएको छ । उसले अस्पतालको क्षमता बढाएको छैन । बिरामीको चापले गर्दा हरेक दिन सबै शैय्या भरिभराउ छन् । अस्पतालका सम्पर्क अधिकृत सुनिल देवका अनुसार आइसियू र भेन्टिलेटर खाली हुनै नपाउने गरेको बताए । ‘बिरामीको चाप यति धेरै छ कि हामी गम्भीर अवस्थामा पुगेका बिरामीहरुलाई मात्र सेवा दिन बाध्य छौ,’ उनले भने,’ ‘आइसियू बिरामी ठीक हुँदा वा मृत्यु भएपछि मात्र खाली हुने अवस्था छ ।’ उनले अस्पतालका सबै १२० शैय्यामा बिरामीहरु भरिएको जानकारी दिए ।

प्रदेश सरकारले सञ्चालन गरेको कोशी कोभिड उपचार केन्द्रमा अक्सिजन र भेन्टिलेटरसहितको ९६ शैय्या रहेको छ । जसमध्ये अक्सिजनसहितको ८३ वटा बेड रहेकामा आइतबारसम्ममा सबै शैय्यामा सङ्क्रमित रहेको अस्पतालका इन्चार्ज बैजनाथ साहले जानकारी दिए । २१ शैय्याको आइसियूमा पनि सङ्क्रमित रहेका छन् । 

कोशी कोभिड अस्पतालले गम्भीर अवस्थाका बिरामी मात्र भर्ना लिइरहेको छ । ‘अहिले हामीसँग अक्सिजनसहितको बेड र भेन्टिलेटर खाली छैन, किनभने आइसियूमा रहेका बिरामीहरुलाई कुनै पनि बेला भेन्टिलेटर आवश्यक पर्नसक्छ, त्यसैले अहिले भेन्टिलेटर प्रयोग नभए पनि त्यहाँ अरु बिरामी भर्ना लिएर भेन्टिलेटर सेवा उपलब्ध गराउन सक्ने अवस्था छैन ।’

विराटनगर महानगरपालिकाभित्र मात्र दैनिक २५० भन्दा बढी नयाँ सङ्क्रमित पहिचान भइरहेको छ । प्रदेश १ मा दैनिक पहिचान भएका सङ्क्रमित सङ्ख्याको झण्डै आधा सङ्ख्या मोरङमा भेटिने गरेको छ । जसले गर्दा अस्पतालहरुमा चाप बढेको हो ।

सिराहा, सप्तरी, उदयपुरलगायत सङ्क्रमित सङ्ख्या बढी भएका जिल्लाहरुबाट पनि उपचारका लागि विराटनगर मै आउनुपर्ने अवस्थाले गर्दा यहाँका अस्पतालहरुलाई उपचार सेवा दिन कठिन परेको छ । त्यसमाथि काठमाडौंबाट समेत बिरामी आउन थालेपछि अस्पतालहरु थप चापमा परेका छन् ।

विराटनगरका तीन वटा अस्पतालमा १०० बेड आइसियू, ४० वटा भेन्टिलेटरसहित ३८४ बेडमा कोभिड–१९ का गम्भीर बिरामीको उपचार भइरहेको छ । कोसी कोभिड अस्पताल पूर्ण क्षमतामा सञ्चालनमा आएको खण्डमा एक सय बेड थपिनेछ ।