वराहक्षेत्रका सञ्चारकर्मीहरुलाई प्रेस चौतारी नेपाल वराहक्षेत्रले स्वास्थ्य सामग्री वितरण गरेको छ । 

कोरोना सङ्क्रमणको विषम परिस्थितिमा ग्रामीण क्षेत्रबाट पत्रकारिता गरिरहेका पत्रकारको स्वास्थ्य अवस्थामा जोड दिइनुपर्ने साङ्केतिक दबाव र माग स्वरुप चौतारीले स्वास्थ्य सामग्री वितरण गरेको अध्यक्ष विमला घिमिरेले बताइन् । 

चक्रघट्टी, कालाबञ्जार, नडाहा, चतरा, प्रकाशपुर, राजाबासलगायतका स्थानबाट विभिन्न सञ्चारमाध्यममा रिपोर्टिङ गरिरहेका सञ्चारकर्मीलाई मास्क, सेनिटाइजर, ग्लोब्सलगायतका स्वास्थ्य सावधानीका सामग्री वितरण गरिएको हो । 

press_chautari_barahakshetra1

ग्रामीण क्षेत्रबाट सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुको स्वास्थ्यलगायतका पेशागत सुरक्षाका विषयलाई प्राथमिकतामा नराखिने परिपाटी रहेको चौतारी वराहक्षेत्रका सह–इञ्चार्ज प्रदीप जस्मैत चौधरीले बताए । उनले शहरी क्षेत्रका पत्रकार सरह यहाँका पत्रकारलाई पनि बिमा, सहुलियतलगायत पेशागत धर्म निर्वाहका लागि आवश्यक अधिकार प्रदान गर्नुपर्ने बताए । 

हाल पत्रकार महासंघ सुनसरीको सदस्यता पाएका मात्रै १३ जना पत्रकारहरु छन् भने सदस्यताबाट बञ्चित दोब्बर सङ्ख्यामा अनलाइन तथा रेडियो पत्रकारिता गरिरहेको संख्या रहेको स्थानीय पत्रकार तथा चौतारी वराहक्षेत्रका ईञ्चार्ज विजयकुमार राई बताउँछन् ।

वराहक्षेत्रमा ग्रामीण पत्रकार समूह, प्रेस चौतारी, प्रेस युनियन, मिडिया नेपाललगायतका पत्रकारका संगठन क्रियाशील छन् ।

press_chautari_barahakshetra2