इटहरी / कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै बजारमा मास्कको चरम कालोबजारी सुरु भएको छ । सामान्य किराना पसल, मेडिकल पसल र कपडा पसलमा समेत पाउन थालिएको मेडिकल मास्कमा सर्वसाधारणहरू ठगिएका छन् । व्यापारीहरूले एउटा मास्कमा २७० प्रतिशतभन्दा बढी मुनाफा राखेर बिक्री वितरण भइरहेको पाइएको छ ।  
 मेडिकलहरूले सस्तो मूल्यमा स्वास्थ्य सामग्री खरिद गरेर दोब्बर मूल्यमा आम सर्वसाधारणलाई ठगी रहेका छन् । होलसेलमा प्रतिगोटा रुपैयाँ पर्ने मास्कलाई बजारमा अधिकांश ठाउँमा दश रुपैयाँमा बिक्री भइरहेको छ । जुत्ता पसल, कपडा पसलहरूमा समेत मास्क वितरण भइरहेको पाइन्छ । इटहरीमा फलफूल पसलमा समेत मास्क बिक्री भइरहेको छ । 
इटहरीस्थित माता मनकामना आरोग्य सेण्टर इटहरीका हीरा श्रेष्ठले अहिले बजारमा मेडिकल मास्क नै अभाव भएको बताउँछन् । होलसेलहरूले मास्क अभाव छ भन्छन् । होलसेलमै ६ रुपैयाँसम्म प्रतिगोटा पर्ने गरेको भन्दै आफूहरूले पसलमा ल्याएर जोडीको १५ रुपैयाँसम्ममा बिक्री गर्ने बताए  ।  अहिले मास्कको अभाव भइरहेको सञ्चालक श्रेष्ठको भनाइ थियो । 
बिहीबार इटहरी बजार अनुगमन गर्दा मास्कमा व्यापार कालोबजारी भेटिएको इटहरी उपमहानगरपालिकाले जनाएको छ । राजश्व प्रशासन शाखा प्रमुख नवीन भट्टराईले व्यापारीको चरम लापरबाहीले आम सर्वसाधारण मर्कामा परेको बताउँछन् । मास्कमा सर्वसाधारणहरू ठगिएको उनको भनाइ छ । मास्कको बिल नै नभए पनि स्टिमेट बिलमा मात्र कारोबार भएको पाइएको उनी बताउँछन् । 
  १ सय एमएलको सेनिटाइजर ९० रुपैयाँमा खरिद गरेर त्यसलाई व्यापारीले १ सय ६५ रुपैयाँमा बिक्री गर्ने गरेको पाइएको भट्टराईको भनाइ छ । ३ रुपैयाँमा होलसेल खरिद गरेको मास्क १० रुपैयाँमा बेच्दा व्यापारीहरूले २ सय ७० प्रतिशतभन्दा बढी मुनाफा राखेर बिक्री गरिरहेको बताए । इटहरीका अधिकांश पसलहरूमा मास्कको कालोबजारी भएको भन्दै आफूहरू गम्भीर भएको उपमहानगरले जनाएको  छ । 
३ रुपैयाँ खरिद मूल्य रहेको मास्क १० रुपैयाँमा बेच्न नमिल्ने जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशासकीय अधिकृत त्रिलोचन न्यौपानेले बताए । मास्क र सेनिटाइजरमा बढी मुनाफा राखेको पाइएकाले यसलाई नियन्त्रण गर्न उपमहानगर, जिल्ला प्रशासन र राजश्व कार्यालयको बैठक बसेर तीन दिनभित्रमा नतिजा आउने गरी कार्यान्वयन गरिने बताएका छन् । मास्कको मूल्य ५ रुपैयाँभन्दा बढी हुन नहुने उनको भनाइ थियो । 
पाँच रुपैयाँभन्दा बढीमा मास्क नबेच्न निर्देशन
कोरोनाको त्राससँगै बजारमा मास्कको अत्यधिक माग भए पछि कालोबजारी सुरु भएको छ । मास्कमा व्यापारीहरूले कालोबजारी गरेको भन्दै इटहरीमा बजार अनुगमन भएको छ । बजारमा मास्कको मूल्य अत्यधिक बढाएको भन्दै ५ रुपैयाँभन्दा बढी मूल्यमा मास्क नबेच्न व्यापारीहरूलाई निर्देशन दिएको हो । 
जिल्ला प्रशासन कार्यालय, उपभोक्ता अधिकारकर्मी, प्रहरी र सञ्चारकर्मीसहितको टोलीले अनुगमन गर्दा १० रुपैयाँमा बेच्ने गरेको पाइएको छ । ‘अनुगमनका क्रममा मास्क खरिद मूल्यभन्दा पाँच गुणासम्म बढीमा बेच्ने गरेको पाइयो’–इटहरी उपमहानगर राजश्व प्रशासन शाखा प्रमुख नवीन भट्टराईले भने । 
पाँचवटा औषधि पसलको अनुगमन गर्दा चारवटाले त सर्जिकल मास्क खरिद गरेको बिलसमेत देखाएनन् । खरिद मूल्य र अधिकतम् बिक्री मूल्यको अन्तर धेरै पाइएकाले अब उद्योगमै पुगेर समेत अनुगमन गरिने उनको भनाइ थियो । भट्टराईले भने, ‘सर्वसाधारण मास्क किन्न नसकेर एउटै मास्क धोएर लगाइरहेका छन्, बजारमा भने यस्तो छ । पाँच रुपैयाँमै बेच्दा पनि दोब्बर बढी फाइदा हुन्छ ।’