नेपालको चारकोसे झाडीले परिचित प्रदेश १ मा रहेको झापा हल्दीबारीको जलथल जङ्गलमा भएका जैवक विविधता मास्न प्रदेश सांसद् नै लागि परेका छन् । 

झापा क्षेत्र नम्बर ३ (क) सांसद् वसन्तकुमार बानियाँको पहलमा प्रदेश १ सरकारले जलथल जङ्गल भएर सडक निर्माण गर्ने तयारी गरेपछि स्थानीय केही अगुवा र विज्ञहरुले जैविक विविधता मास्ने काम हितमा नभएको बताउँदै आएका छन् । 

बहुवर्षे योजनामा परिसकेकोले यो सडक पक्का निर्माण हुने वानियाँको दाबी छ । हल्दीबारी ४ वडाबारी चोकबाट दक्षिण जङ्गल हुँदै तारावनसम्म १७ दशमलव ३९ किलोमिटर सडक निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगिसकेको उनले बताए । तात्कालीन बालुवाडी, जलथल, हल्दीबारी गाविसका वडाध्यक्षको पहलमा गोरेटो बाटो निर्माण भइसकेकाले हाल सो सडकमा केही झाडी तथा बुटियान मात्र पर्ने उनको भनाइ छ । 

‘म आफैं गएर स्थलगत अनुगमन गरिसकेको छु, त्यहाँ जैविक विविधतामा कुनै असर पर्दैन उनले भने, ‘बजेटका कारण मात्र काम रोकिएको हो, गत भदौमा ठेक्का खुलिसकेकोले सम्झौता हुन मात्र बाँकी छ ।’

काँचा र ठूला रुख सो सडकमा नपर्ने उनले दाबी गरे । करिब ४५ करोडको लागतमा सो सडक निर्माण हुने उनको भनाइ छ ।

यसैगरी सोही निर्वाचन क्षेत्र (ख) का प्रदेश सांसद पूर्णप्रसाद राजवंशी पनि सडक बन्नु पर्ने बताउँछन् । जैविक विविधतामा असर नपर्ने तरिकाले यो योजना ल्याएको उनको भनाइ छ । मेरो कुनै व्यक्तिगत स्वार्थ नभई उत्तर र दक्षिण क्षेत्रका जनताको माग भएको उनले बताए । 

सडकको विषयमा पछिल्लो गतिविधि केही जानकारीमा नआएको जलथल जङ्गल अन्तर्गत पाथीभरा कालिका सामुदायिक उपभोक्ता समितिका अध्यक्ष चिरिञ्जीवी पौडेलले बताए । आईईई लागि आएको पत्रको उत्तर लेखेर डिभिजन वन कार्यालयमा पठाइसकेपछि थप जानकारी केही नआएको उनको भनाइ छ । आईईई गर्नका लागि प्रतिनिधि मागेपनि नपठाएको डिभिजन वन कार्यालय झापाका प्रमुख युवराज मास्केले बताए । 

सो क्षेत्रमा कति रुख काटिने भन्ने विषयमा सडकको नापजाँचपछि मात्र जानकारी हुने उनको भनाइ छ । हाल सबै काम बन्द रहेको उनले बताए । जैविक तथा भौगोलिक विविधताका हिसाबले अत्यन्तै महत्वपूर्ण जङ्गल जोगाउन त्यसभित्र थप सडक बनाउनु यो क्षेत्रका लागि ठुलो नोक्सानी हुने एकथरीका स्थानीयको भनाइ छ । 

सडकका कारण वातावरण प्रदूषण हुने भएकोले भएका जीवजन्तु र अनगिन्ति जडिबुटी नास हुने उनीहरु बताउँछन् । खोला, खोल्सा, सिमसार, पोखरी र कतै उच्च भूभाग, खुला चौर आदि भएको जङ्गल यो मात्र भएको जानकारहरु बताउँछन् । हिमाल, पहाड र तराईमा पाउने सबै वनस्पतिहरू पाइने विज्ञहरुको भनाइ छ । गाउँपालिका प्रमुख रविन्द्र प्रसाद लिङ्देनले अतिक्रमण हुँदै बचेको अलिकति जङ्गलबाट सडक लैजाने काम तुरुन्त बन्द गर्नु पर्ने जनाए । 

‘एउटा सडक हुँदाहुँदै अर्को सडक बनाउनु भनेको जङ्गल मास्नु नै हो ।’ उनले भने । जङ्गलका रुख भन्दा पनि जैविकविविधता महत्वपूर्ण भएकाले सो सडक जसरी पनि रोकिनु पर्ने क्षेत्र नम्बर ३ का एक जिम्मेवार नेताले बताए । 

एक मात्र जैविक विविधता भएको जलथल जङ्गललाई बचाउनु सबैको दायित्व भित्र पर्ने उनको भनाइ थियो । 

प्रदेश सरकारले गत फागुन २३ मा प्रदेश १ को भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयले जलथल जङ्गल भएर निर्माण गरिने सडकका निम्ति प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदन तयार गर्ने सम्बन्धमा सूचना जारी गरिसकेको छ । 

जलथल जङ्गलमा निर्माण गर्ने भनिएको प्रस्तावित सडकको लम्बाइ १७.३९ कि.मि. र चौडाइ ७.५ मिटर रहेको सडकको करिब ५.५ किमी खण्ड जलथल जङ्गल भएर जानेछ । सडकको चौडाइ ५.५ मिटर हुनेछ । 

मसुरे कटुस, ढाल्ने कटुस, चिलाउने पूर्वी नेपालमा पाइने थाकल (साइकस पेक्टिनाटा), रामफल (डिल्लेनिया इन्डिका), लटहर (एर्टाेकार्पस चामा), ठेकीफल–ढेंडु झुला (एल्फोन्सिया भेन्ट्रिकोसा), बाँदर झुला (उभारिया ह्यामिल्टोनी) लगायतको प्रजातिका बोटविरुवा प्रशस्त मात्रामा पाइने विज्ञहरुको भनाइ छ । 

वन ऐन २०७६ को परिच्छेद १२ मा विकास आयोजना सम्बन्धी व्यवस्था शीर्षकमा ‘राष्ट्रिय वनको कुनै पनि भाग वनक्षेत्रको भू–उपयोग परिवर्तन हुने गरी प्रयोग गरिने छैन’ भनिएको छ । तर, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना, लगानी बोर्डबाट लगानी स्वीकृत भएको आयोजना, राष्ट्रिय गौरवका आयोजना सञ्चालन गर्न वनक्षेत्रको प्रयोग गर्न बाहेक अन्य कुनै पनि विकल्प नभएमा र प्रचलित कानून बमोजिको वातावरणीय परीक्षणबाट त्यस्तो योजना सञ्चालन गर्दा वातावरणमा उल्लेखनीय प्रतिकूल असर नपर्ने देखिएमा नेपाल सरकारले त्यस्तो योजना सञ्चालन गर्न राष्ट्रिय वनको कुनै भाग प्रयोग गर्न तोकिए बमोजिम स्वीकृति दिन सक्ने उल्लेख छ ।