कोरोना महामारीका बीच कोरोनाको खोप लगाउने देशहरुमा नेपाल पछि नै रहेको तथ्यांक बाहिर आएको छ । युनिभर्सिटी अफ अक्सफोर्डको रिपोर्ट अनुसार नेपालमा १०० जना मध्ये ७ जनाले मात्र खोप लगाउन पाएका छन् ।

रिपोर्टका अनुसार खोप लगाउने देशहरुमा सिसेल्स पहिलो नम्बरमा छ । इजरायल दोस्रो नम्बरमा छ भने युएई तेस्रो नम्बरमा रहेको छ । 

तथ्यांकका अनुसार विश्वमा हालसम्म १८० करोड डोज खोप लगाइएको छ । 

यो महामारीमा पाकिस्तान सबैभन्दा पछि रहेको तथ्यांकमा देखिएको छ । रिपोर्टका अनुसार नेपालमा ७ प्रतिशत खोप लगाइएको छ भने भारतमा ११ प्रतिशत खोप लगाइएको छ । 

द न्युज इन्टरनेशनलको  समाचारअनुसार मालदिभ्समा १०० व्यक्तिमा ७३ ले खोप लगाएका छन् । चीनमा १७ जनाले नेपालमा ७ जनाले, बंगलादेशमा ५.२ ले, श्रीलंकामा  ४.२, इरानमा १.१ र अफगानिस्तानमा ०.६ प्रतिव्यक्तिले खोपको  पहिलो डोज लगाएका छन् । 

तथ्यांकका अनुसार विश्वमा अहिलेसम्म १८० करोड डोज खोप लगाइएको छ । यो १०० डोजमा १४ डोज बराबर हो । ८३ प्रतिशत खोप उच्च वा उच्च मध्यम आय हुने देशमा लगाइएको छ । मात्रै ०.२ प्रतिशत खोपको डोज कम आय भएको  देशमा लगाइएको छ । अफ्रिका विश्वकै एकमात्र द्विप हो जहाँ खोप अभियान अत्यन्तै सुस्त गतिमा छ । 

रुसमा मल र सिनेमा हलमा पनि खोप अभियान

रुसले आफ्ना नागरिकलाई महामारीको चपेटाबाट बचाउनका लागि हरसम्भव प्रयास गरिरहेको छ । रुसमा अस्पताल, क्लिनिकका साथै मल, फूड कोर्ट र सिनेमाघरमा समेत खोप लगाउँदै आएको छ । जसलाई जहाँ सुविधा हुन्छ, त्यहीं खोप लगाइदिने र महामारी रोक्ने सरकारको उद्देश्य छ । १४.६ करोड व्यक्तिमध्ये ३ करोडलाई जूनको मध्यसम्ममा खोप लगाउने रुसको लक्ष्य छ । यसपछि ६.९ करोड व्यक्तिलाई अगस्टसम्मम खोप लगाइने छ । 

खोपको उत्पादन बढाउन चीनको सहयोग लिंदै रुस

चिनको फार्मा कम्पनीसँग मिलेर रुसले आफ्नो स्पुटनिक–५ खोपको उत्पादन बढाउने छ । खोप निर्माण गर्ने तीन कम्पनीसँग खोपको २.६ करोड डोज उत्पादनका लागि सम्झौता गरेको रुसको भनाइ छ । ६३ करोड खोप विश्वभरका १०० राष्ट्रमा उपलब्ध गराउने रुसको दाबी छ । 

खोप आपूर्तिका विषयमा चीनको चिन्ता

चीनले ३० वटा देशलाई खोप उपलब्ध गराएको छ । चीनलाई पनि खोपको आपूर्तिका लागि चुनौती देखा परेको छ । 

न्युयोर्कस्थित काउन्सिल अन फरेन रिलेसन्सका  ग्लोबल हेल्थका सिनियर फेलो यानझोङ हुआङले चीनले पनि अन्य राष्ट्रको आवश्यक्ता परिपूर्ति गर्ने  गरी खोप उत्पादन गर्न  नसकिरहेको बताएका छन् ।