इटहरी। समुदायस्तरमा कोरोना सङ्क्रमण नफैलियोस् भनेर सर्वसाधारणलाई घर बाहिर ननिस्कन आग्रह गरे पनि इटहरीमा भने सर्वसाधारणकै अटेरीपनका कारण कोरोनाको जोखिम बढ्दो छ । 

प्रदेश १ कै प्रमुख चौबाटो भएकाले पनि इटहरीमा सर्वसाधारणहरूको आवत–जावत बाक्लो हुन्छ, त्यसैले कोरोना सङ्क्रमणको जोखिम पनि बढी हुन्छ नै । तर, यहाँका सर्वसाधारणले जिल्ला प्रशासनले गरेको निषेधाज्ञालाई पनि टेरेका छैनन् ।

इटहरीका स्थानीय जगदीश सापकोटा निषेधाज्ञा नामै मात्रको भएको बताउँछन् । अहिले बजारमा सर्वसाधारणहरूले खेलाँची गरिरहेकै कारण कोरोनाको जोखिम बढिरहेको उनी बताउँछन् । प्रशासनले कडाइको साथ निषेधाज्ञा पालना गराउनु पर्ने सर्वसाधारणको भनाइ छ ।

प्रशासनले सवारी साधनमा लगाएको जोर बिजोर प्रणालीसमेत इटहरीमा लागू भएको छैन । इटहरीमा अहिले पनि भीडभाड बढ्दै गएको माओवादी केन्द्रका स्थानीय नेता कृष्णप्रसाद सापकोटा बताउँछन् । बजार तथा रेष्टुरेण्टहरु अहिले पनि खुल्ला भएको भन्दै यस्तो खेलाँची भए ठूलो समस्या हुने उनी बताउँछन् । 

इटहरीमा पछिल्लो समय नाम मात्रैको निषेधाज्ञा भएको इटहरी पचरुखीका विष्णु बाँस्तोला बताउँछन् । निषेधाज्ञा नाम मात्रैको हुनु र नागरिकको अटेरीपनले झन््–झन् कोरोनाको जोखिम बढ्दै गइरहेको उनको भनाइ छ ।

१ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका इन्स्पेक्टर होम दाहालले सर्वसाधारणले नटेर्दा केही समस्या भइरहेको बताए । जोर बिजोर प्रणाली नटेर्नेहरुको सवारी साधनहरु भने केहि समय होल्ड गराउँदै आएको उनी बताउँछन् । तर, अधिकांश सर्वसाधारणले अटेरीपन देखाएको सुरक्षाकर्मीहरू बताउँछन् ।

इटहरी अस्पतालका इर्मेजेन्सी इञ्चार्ज रामकुमार धमला इटहरीमा कोरोना सङ्क्रमितहरूको दर ह्वात्तै बढिरहेको बताउँछन् । सर्वसाधारणको खेलाँचीकै कारण अहिले कोरोना जोखिम उच्च भएको उनको भनाइ छ । अहिले पनि राजनीतिक कार्यक्रम र सर्वसाधारणले मास्क नलगाई हिँड्दा इटहरी क्षेत्रमा कोरोनाको जोखिम उच्च हँुदै गएको उनको भनाइ छ । सर्वसाधारणले यस्तै खेलाँची गरे अवस्था भयावह हँुदै जाने स्वास्थ्यकर्मी धमला बताउँछन् । 

पछिल्लो साता मृत्युदर पनि बढ्दै गएको छ । सरकारी कडाइ फितलोसँगै नागरिकमा सावधानी पनि छैन । लामो लकडाउनमा सरकारले चाहेको भए निकै काम गर्न सक्थ्यो । परीक्षणको दायरा बढाउने, आवश्यकताअनुसार क्वारेण्टाइन क्षमता बढाउने, सङ्क्रमितलाई व्यवस्थापन गर्ने, लकडाउनपछिको अवस्थामा के–कस्ता सावधानी अपनाउने विषयमा सरकार चुक्दै आएको छ ।

सङ्क्रमितको कन्ट्याक्टमा आउनेलाई पहिचान गर्न नसक्नुले जोखिम उच्च बढ्दै छ । यता इटहरी उपमहानगरपालिकाका स्वास्थ्य शाखाका घनश्याम श्रेष्ठले भने कन्ट्याक्ट ट्रेसिङलाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताए ।

कारोना सङ्क्रमित बढ्दै

इटहरीमा कोरोना सङ्क्रमित बढ्दै गएको इटहरी अस्पतालले जनाएको छ । सोमबार मात्र इटहरीमा १३ जनामा कोरोना सङ्क्रमण भएको जनाएको छ । कोरोनाको दोस्रो लहरमा इटहरीमा अहिले सम्म २ सय ३७ जनामा सङ्क्रमण भएको छ  भने ३ जनाको ज्यान गइसकेको छ । 

पहिलो लहरमा इटहरीमा ७ हजार ३ सय ५२ जनाको पीसीआर गर्दा ३ हजार बढी सङ्क्रमित भएका थिए भने ४६ जनाको कोरोना सङ्क्रमणकै कारण मृत्यु भएको इटहरी अस्पतालले जनाएको छ ।