भद्रपुर।  झापाको हल्दीबारी गाउँपालिकासहित सबै वडा कार्यालयहरूमा अति आवश्यक कामबाहेक सबै सेवा बन्द गरिएको छ ।

गाउँपालिकामा कार्यरत एक कर्मचारीलाई कोरोना भाइरसको सङ्क्रमण देखिएपछि तीन दिनका लागि  अति आवश्यक बाहेकका सबै सेवा बन्द गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रवीण दाहालले जानकारी दिए ।

 उनका अनुसार शुक्रबारदेखि आइतबारसम्म सबै सेवा बन्द गर्ने निर्णय भएको हो ।

साथै बिहीबार बसेको गाउँ विपद् व्यवस्थापन समितिको बैठकले गाउँपालिकाभित्र लाग्ने साप्ताहिक हाटबजार समेत बन्द गर्ने निर्णय गरेको छ ।

कोरोना महामारीका बेला बजारमा कालोबजारी गर्नेलाई पसललाई कारबाही गर्ने समेत बैठकले निर्णय गरेको उनले जनाए । गाउँपालिकाले अनिवार्य मास्कको प्रयोग गर्नुका साथै सरकारले जारी गरेको निर्देशन बमोजिम हिडडुल गर्न गाउँवासीलाई अपिल पनि गरेको जनाए ।

 यता झापा जिल्लामा सक्रिय कोरोना सङ्मितको सङ्ख्या २८५ पुगेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । बिहीबार ५० जना कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएसँगै जिल्लामा सङ्ख्या तीन सय पुग्न लागेको हो ।

विहीबार अर्जुनधारा नगरपालिका–६ निवासी ६५ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । 

 बिर्तामोड नगरपालिकामा १८, दमक नगरपालिकामा ६, मेचीनगर नगरपालिका १०, भद्रपुर नगरपालिकामा ५, कनकाई नगरपालिकामा २, हल्दीबारी गाउँपालिकामा १, अर्जुनधारा नगरपालिकामा २, गौरीगञ्ज गाउँपालिकामा ४ र शिवसताक्षी नगरपालिकामा १ जनालाई कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए । जिल्लामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १३२ पुगेको छ ।