कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढिरहेका बेला धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले अत्यावश्यक नपरी प्रतिष्ठान नआउन सार्वजनिक अपिल गरेको छ ।
कोभिड १९ को महामारीको दोस्रो लहर देशव्यापी फैलिएसँगै प्रतिष्ठानमा दिनानुदिन कोभिड १९ का बिरामीहरु आउने एवम् भर्ना हुने दर द्रुत गतिमा बढ्दै गइरहेको प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहले आज सार्वजनिक अपिलमार्फत् जानकारी गराएका छन् ।
अस्पताल निर्देशक साहले प्रतिष्ठानमा सञ्चालित कोभिड १९ अस्पतालमा जटिल किसिमका बिरामीहरु भर्ना भई उपचार गराउनु पर्ने आवश्यकता बढ्दै गइरहेको अपिलमार्फत् बताएका छन् ।
अस्पतालमा कोभिड १९ संक्रमणले जोखिम बढ्दै गइरहेको तथा डाक्टर, नर्स लगायत स्वास्थ्यकर्मीलाई कोभिड १९ अस्पतालमा खटाउनु पर्ने बाध्यताका कारण नियमति सेवा समेत प्रभावित भई खुम्चँदै जाने अवस्था सिर्जना भएको अपिलमा बताइएको छ ।
महामारीको दोस्रो लहरको प्रकोप कम नहुँदासम्म सबैले कोभिड १९ को रोकथामको सुरक्षा उपायहरु अवलम्बन गर्न र अत्यावश्यक काम नपरी अस्पताल नआउन अपिल गरिएको छ ।
महामारीको बाध्यात्मक अवस्थाले पुर्याएको असहजता बुझिदिन प्रतिष्ठानले आग्रह गरेको छ । कोभिडको दोस्रो लहरको असर बढ्दै गएपछि अस्पतालमा कोभिड १९ उपचार सेवा थप विस्तार गर्नुपरेमा आकस्मिक बाहेकका अन्य सेवाहरु स्थगन गर्नुपर्ने अवस्था आउन सक्ने पनि प्रतिष्ठानले सुचित गराएको छ ।