कोशी टप्पु वन्यजन्तु आरक्षमा अर्नाको संख्या बढेको तथ्यांकले देखाएको छ ।  ४ सय ४१ वटा अर्ना गणना गरिएकामा तीन वर्षको अवधिमा यो संख्या ४ सय ९८ पुगेको छ । 

वैशाख ६ गतेदेखि ११ गतेसम्म भौगौलिक सूचना प्रणाली (जीपीएस) रिसिभर युनिट, दुरबिन, एनड्रोइड मोबाइललगायत प्रविधिद्वारा अर्नाको गणना गरिएको कोशी टप्पु वन्यजन्तु आरक्षका प्रमुख अशोक रामले जानकारी दिए । 

४ सय ९८ वटा अर्नामध्ये २ सय २१ वटा वयस्क भाले, १ सय ६२ वटा वयस्क पोथी, ४८ वटा अर्ध वयस्क, दुई वर्षसम्मका पाडापाडी ३५ वटा र एक वर्षका ३२ वटा रहेको आरक्ष प्रमुख रामले बताए ।  

उनका अनुसार गणनामा अर्नाको लिंग र उमेर समूह पहिचान गरी विवरण संकलन गरिएको छ । आरक्षमा छाडिएका घरपालुवा पशु–चौपाया र वनस्पती प्रजातिको तथ्यांकसमेत संकलन गरिएको छ । 

केही वर्षयता अर्नाको आक्रमणबाट ५ जनाको मृत्यु र १६ जना घाइते भएका छन् । १० वटा अर्ना विभिन्न कारणले मरेका छन् । मध्यवर्ती क्षेत्रमा अर्नाहरु निस्कने र कृषकले लगाएको बालीमा बिझाइँ गर्ने स्थानीयको गुनासो बेलाबेला आइरहने गरेको छ । 

आरक्ष क्षेत्रमा अर्नाहरु जस्तै देखिने ‘ब्याक क्रस्ड’ को संख्या समेत बढेको आरक्षको भनाइ छ । ३ सय बढी अर्नाजस्तै देखिने भैंसीहरु फेला परेका छन् । घरपालुवा भैँसी अर्नासँग प्रजनन भएपछि त्यस्ता भैंसीहरु जन्मिने गरेका छन् ।