पूर्वी नेपालमा साहसिक खेल विकास, विस्तार र प्रवद्र्धनमा योगदान पुर्याएका स्वर्गीय लेखमणि जिमीको स्मृतिमा पार्क निर्माण हुने भएको छ । 

यो पार्क साहसिक खेल प्रवद्र्धनका लागि हुने छ । प्याराग्लाइडिङ, गल्फ कोर्स, साइक्लिङलगायतका साहसिक  खेलको विकासका लागि नेपालकै ‘हाइअल्टिच्युड’मा पार्क स्थापना हुने भएको छ । 

स्वर्गीय जिमीको स्मृतिको ७ मासको तिथिमा शिलालेख स्थापना भएको छ । स्मृति पार्कस्थलमा प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङ र स्वर्गीय जिमीको परिवारसहित सञ्चारकर्मीको टोली त्यस क्षेत्रमा पुगेको छ ।  

मन्त्री आङबुहाङले प्रदेश १ को साहसिक खेल प्रवद्र्धनका लागि आफ्नो व्यक्तिगत र प्रदेश सरकारको तर्फबाट हुन सक्ने आर्थिक भौतिक सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।  

संखुवासभाको मादी–२, मंगलबारे माइमन्झर खर्क, सिरमानेमा पार्क स्थापना हुने स्वर्गीय जिमीका जेठा दाइ रामकुमार जिमीले जानकारी दिए ।

एडभेन्चर पार्क निर्माण स्थलबाट पूर्वका सगरमाथा, कुम्भकर्ण, कञ्चनजंघा लगायतका हिमशृङ्खल देखिन्छन् । तेह्रथुम र संखुवा सभाको सिमानामा पर्ने यो क्षेत्र मुलुककै नमूना र साहसिक पर्यटनका लागि अद्भूत क्षेत्र हुने स्वर्गीय जिमीकी श्रीमती समुद्र राईले बताइन् । 

‘साहसिक खेल प्रवर्धनमा उहाँले दिलोज्यान दिएर काम गर्दै आउनु भएको थियो, यो क्षेत्रमा उहाँ सक्रियताका साथ लागि पर्नु भएको थियो,’ स्वर्गीय जिमीका भतिज देशवीर जिमीले भने, ‘खेलकुदको उर्वरभूमि भनेर चिनिने धरानको खेलकुद क्षेत्रलाई विकास प्रवर्धन गर्न उहाँ सधैँ क्रियाशील हुनुहुन्थ्यो, एकजना साहसिक खेलाडी तथा खेलप्रेमीको माया र सम्मानमा एडभेन्चर पार्क निर्माण हुन लागेको हो ।’

स्वर्गीय जिमी साहसिक खेल पर्यटनसँग सम्बद्ध संस्थाहरू रहेको एक्सट्रीम धरानका अध्यक्ष थिए । धरान उपमहानगरपालिकाको पर्यटन समितिका सदस्य पनि थिए । स्वर्गीय जिमीले बुढासुब्बा प्याराग्लाइडिङ प्रालिमार्फत् धरानमा व्यावसायिक रूपमा प्याराग्लाइडिङ सञ्चालनमा ल्याएका थिए । संखुवासभा स्वर्गीय जिमीको जन्मथलो हो । उनको स्मृतिमा एडभेन्चर पार्क निर्माण हुन लागेको हो ।

lekhmani_Jimi_Adventure_Park_Upendra_Chamling_Photo2

डलर तिरेर आउने वातावरण बनाउनुपर्छः मन्त्री आङ्बुहाङ

लेखमणि जिमी एडभेन्चर पार्क देशकै नमूनाका रुपमा विकास गर्न सकिने प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङबुहाङले बताए । 

उनले डिपीआर निर्माण गरी गुरुयोजनाअनुसार पार्क निर्माण गरिने बताए । 

‘राजनीतिक तरलता, र अस्थिरताले विकासोन्मुख देशले अथाह जैविक रासायनिक, प्राकृतिक सम्पदा, हिम शृङ्खला भए पनि मास्टर प्लान बनाएर प्राथमिकीकरणमा राखेर काम गर्न सकेका छैनन्,’ मन्त्री आङ्बुहाङले भने, ‘तीन तहका सरकारले अब विकास गर्नुपर्छ, पहिले कमीकमजोरी भए, नीति निर्माण तहमा बुढ्यौलीपनको वर्चस्व रह्यो, अब आधुनिक विकासतर्फ अगाडि बढ्नु पर्छ । 

मन्त्री आङ्बुहाङले ११ सय रोपनीको क्षेत्रफलमा रहेको पार्कमा हवाइ मैदान, जिप प्लाइङ, सबै खेलका एकेडेमी निर्माण गरी डलर तिरेर युरोपियन आउने वातावरण निर्माण गर्नुपर्ने बताए । ‘६ महिना हिउँ पर्ने स्थान छ, सदाबहार मौसम यस्तो स्थानमा जो कोही आउन लालायित हुन्छन,’ मन्त्री आङ्बुहाङले भने, ‘अन्तर्राष्ट्रि टुर्नामेन्ट गर्ने, अर्गानिक खाना, डलर पे गर्ने वातावरण तीन तहका सरकारले मिलाउनु पर्छ ।’ 

मास्टर प्लान बनाउँदा प्राकृतिक र कृतिम विकासका पूर्वाधार निर्माण गर्नु पर्ने मन्त्री आङ्बुहाङले बताए । संसारकै सबैभन्दा बढी प्रजातिको गुराँस पाइने क्षेत्र तीनजुरे मिल्के र जलजलेको अवलोकन गर्दै स्वर्गीय जिमीको सपना साकार पार्न तीन तहकै सरकार लागिपर्नुपर्ने मन्त्री आङबुहाङले धारणा राखे ।

lekhmani_Jimi_Adventure_Park_Upendra_Chamling_Photo1

अन्तर्राष्ट्रिय ख्याती प्राप्त साहसिक खेलाडीको  उपस्थिति

प्रस्तावित लेखमणि जिमी एडभेन्चर पार्कको अवधारणा पूरा गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याती प्राप्त विश्व कीर्तिमानी साहसिक खेलाडीको समेत सो अवसरमा उपस्थिति रह्यो । 

पर्यटन प्रवद्र्धनका लागि सो क्षेत्र पुगेर विश्व कीर्तिमानी प्याराग्लाइडर सानोबाबु सुनुवार सुनको थाल बोकेर घरमा खाना छैन भन्दै भौतारिने देशका मान्छे नेपाली रहेको प्रतिक्रिया दिए । 

साहसिक खेलका तीन वटा क्षेत्रमा विश्व कीर्तिमान कायम गरेका उनले मुलुकको तर्फबाट ३७ वटा देशमा प्रतिनिधित्व गरी नेपालको साहसिक खेलको प्रवद्र्धन गरिसकेका छन् । 

उनले ‘खर्क’लाई प्रवद्र्धन गरेर लानुपर्ने विचार व्यक्त गरे । संसारको गुराँसका लागि अध्ययन क्षेत्र मकालु वरुण राष्ट्रिय निकुञ्ज सुनेको भए पनि त्यसको अवलोकन गर्न पाएको बताए । एडभेन्चर भनेको वास्तविक जीवनको मूल्य मान्यता रहेकाले यसैको मौलिक विकास गर्नु पर्ने उनले धारणा राखे ।  

सर्वोच्च शिखर, समुद्र, साहार मरुभूमिसम्म पुगेको अनुभव सुनाउँदै सुनुवारले बुद्धि भएको र प्रकृतिसँग नजिक भएको मान्छेले ‘एडभेन्चर’ गर्ने बताए । आधी बुद्धि भएको र आधि बुद्धि नभएको मान्छेले गर्ने खेलका रुपमा साहसिक खेललाई परिभाषित गर्दै आएकोमा गलत रहेका बताए । 

संस्कृति, प्रकृति, परम्परा र साहसिक खेलको विकास लेखमणि जिमी एडभेन्चर पार्कमा हुनेमा उनले विश्वास व्यक्त गरे । सिंगल इन्जिन प्लेन उडाउनेदेखि प्याराग्लाइडिङलगायतका साहसिक खेलका लागि यो क्षेत्र उत्तम रहेको बताए । सुनुवारले विश्वकै अग्लो शिखर सगरमाथा, अफ्रिकाको क्लिमेन्जेरो, युरोपको माउन्ट आल्बोरेसबाट प्याराग्लाइडिङ गरी विश्व कीर्तिमान कायम गरेका छन् । उनले क्याम्ब्रिज, अक्सफोर्डलगायत विश्वका ५० वटा युनिभर्सिटीमा आफ्नो ‘स्पिच’ दिइसकेका छन् । 

lekhmani_Jimi_Adventure_Park_Upendra_Chamling_Photo3

जीवनशैलीबारे ‘एक्सप्लोर’ गर्न सकिन्छ

लेखमणि जिमी एडभेन्चर पार्कले साहसिक खेलमात्र नभएर उक्त स्थानको जीवनशैलीबारे प्रवद्र्धन, एक्सप्लोर गर्ने काम गर्न सक्ने हिमालयन सिंगल ट्रेकका फाउण्डर तथा एमडी सन्तोष राईले बताए ।  

नेपालको हिमालयन बाइकिङ ट्रयाक पत्ता लगाउने साहिसिक खेल पर्यटनसँग आबद्ध छन् । ‘हाम्रा हिमाल, खानेकुरा, जीवनशैलीका बारेमा विश्वभर हामीले बताउन सक्छौं ।’ राईले भने । 

उनी साइकलकै माध्यमद्वारा अपर मुस्ताङ, अन्नपूर्ण, सोलुखुम्बु, फाप्लु, गुफापोखरीलगायत नेपालभरि खोज, अनुसन्धानमा संलग्न भई काम गर्दै आएका छन् । 

lekhmani_Jimi_Adventure_Park_Upendra_Chamling_Photo4

गल्फको सम्भावना

प्रस्तावित लेखमणि एडभेन्चर पार्कमा गल्फ खेलको प्रवद्र्धन र विकास गर्दै आएको नेपाल गल्फ प्रोफेस्नलका खेलाडी टङ्कबहादुर कार्कीले विश्वकै नमूना गल्फ कोर्स निर्माण गर्न सक्ने बताए ।  

उनले यो कोर्स निर्माण भए विश्वकै उच्च स्थानमा हुन सक्ने बताए । गल्फ खेलका खेलाडी, प्रशिक्षक प्रवद्र्धकका रुपमा काम गर्दै आएका कार्कीले हिमालको सामिप्यतामा  गुराँस हेर्दै अद्भूत वातावरणमा गल्फ खेल्नु भनेको शब्दमा वर्णन गर्न नसक्ने बताए ।