सुनसरी क्षेत्र नं. १ बाट संघीय सांसद्मा निर्वाचित जयकुमार राईले पार्टी एकताको पक्षमा उभिएका मान्छेलाई कारबाहीको डर नभएका बताएका छन् । 

वर्तमान राजनीतिक गतिरोधका बारे ब्लाष्टसँग कुराकानी गर्दै सांसद् राईले अहिले सबै माननीयहरु एक ठाउँमा रहेको र छलफल अगाडि बढिरहेको बताए । 

‘अदालत जाने कुरै छैन, माननीयहरु बसिरहेका छौं, पार्टी एकताको पक्षमा उभिएका मान्छे .. के कारबाही गर्छ र ?’ सांसद् राईले भने । 

सुनसरी क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद् राई धरानका वासिन्दा हुन् । स्वच्छ छवि र सरल मिजासका उनी नेकपा विवादपछि माधव नेपाल पक्षमा उभिएका छन् । 

मूलतः सुनसरी र धरान माधव नेपाल पक्षको बाहुल्य रहेको क्षेत्रका रुपमा चिनिन्थ्यो तर नेकपा विभाजनपछि धेरै स्थानीय नेतृत्व संस्थापन पक्षको समर्थनमा उभिएको छ । यद्यपि सुनसरीबाट निर्वाचित संघीय सांसद् राई, प्रदेश सांसद् भीम आचार्य माधव नेपाल पक्षमा छन् ।  

पार्टी अध्यक्षकाे कारबाहीकाे सूचीमा सांसद राइकाे नाम पनि समावेश छ ।

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित २७ जना संघीय सांसद र ५ जना कर्णाली प्रदेशका सांसदलाई स्पष्टीकरण सोधेको विषयलगायतको छलफलका लागि बैठक सुरु भएको छ । 

माधव नेपाल पक्षको स्थायी समिति बैठक बुद्धनगरमा सुरु भएको छ । स्पष्टीकरणका विषयमा छलफल गर्न स्थायी समितिको बैठक डाकिएको छ । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार वरिष्ठ नेता माधव कुमार नेपालसहित २७ जना संघीय संसदलाई पार्टीको नीति निर्देशन विपरित गतिविधि गरेको भन्दै स्पष्टीकरण मागेका थिए ।  

नेपाली राजनीतिक वृत्तमा यतिबेला नेकपा एमाले विभाजनको संघारमा पुगेको विश्लेषण भइरहेको छ । 

नयाँ राजनीतिक दलको रुपमा संलग्न भएको तथा एमालेको चुनाव चिह्न र झण्डा दुरुपयोग गरेको ओली पक्षको आरोप छ । 

मंगलबार २ दिने समय सीमासहित ओलीले संविधानको धारा ८९, राजनीतिक दल सम्बन्धी ऐनको दफा ३१ र ३२ र पार्टीको विधानको धारा ४९ लाई समेत उदृत गरेर सांसद पदबाट किन कारवाही नगर्ने भन्ने प्रश्नसहितको स्पष्टीकरण सोधेका थिए । 

स्पष्टीकरणलगायतका विषयमा छलफल चलिरहेको संघीय सांसद् जयकुमार राईले जानकारी दिए । उनले अगाडि के गर्ने कानून व्यवसायीसँगको छलफलपछि स्पष्टीकरण विरुद्ध मुद्दा दायर गर्ने वा नगर्ने विषयमा निर्णय भइनसकेको बताए ।

‘हामी पार्टीलाई विभाजनतर्फ होइन, एक बनाएर लाने पक्षमा छौं’ सांसद् राईले भने, ‘छलफल चलिरहेको छ, निर्णयमा पुग्न बाँकी छ ।’

यी हुन् स्पष्टीकरण सोधिएका २७ सांसद्

माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, पवित्रा निरौला, झपट रावल, मेटमणि चौधरी,यज्ञराज सुनुवार, जीवनराम श्रेष्ठ, झलनाथ खनाल, विरोध खतिवडा, सोमप्रसाद पाण्डे, भवानी खापुङ र नारायण खतिवडा 

जयकुमार राई, गणेश पहाडी, दिपक प्रकाश भट्ट, योगेशकुमार भट्टराई, हिराचन्द्र केसी, पुष्पाकुमारी कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, सरलाकुमारी यादव, कृष्णलाल महर्जन, नीरादेवी जैरु, मुकुन्द नेउपाने र रामकुमारी झाक्री