बेलायतले भारतका नागरिकलाई प्रवेश रोक लगाएको छ । भारतमा तीव्र गतिमा कोरोना संक्रमण बढ्दै गएपछि बेलायतले भारत यात्राको श्रेणीमा  ‘रातो सूची’ लगाएको छ । बेलायतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा फैलिएको कोरोनाको भेरियन्ट आफ्ना १०३ नागरिकमा संक्रमण देखिएपछि निर्णय गरिएको बताइएको छ । 

यस अघि पाकिस्तानले पनि भारतबाट प्रवेश गर्ने यात्रीलाई दुई साताका लागि प्रवेशमा रोक लगाउने सोमबार निर्णय गरेको थियो । 

रातो सूचीमा राखेपछि बेलायतले गैरबेलायती र आइरिस नागरिकलाई भारतबाट बेलायत जान रोक लगाउने छ । साथै विदेशबाट फर्किएका बेलायतीलाई होटलमा १० दिनसम्म क्वारेन्टाइनमा बस्नु पर्ने अनिवार्य गरेको छ । 

बेलायती स्वास्थ्यमन्त्री मेट हेनककले ‘हाउस अफ कमन्स’ मा यसको पुष्टि गरेका छन् । भारतीय स्वरुपको कोरोनाका कारण बेलायतका  १०३ जना पीडित भएको र, यो बेलायतबाहिरबाट आएका नागरिकमा रहेको उनले स्पष्ट पारेका छन् । 

यसैबीच बेलायती प्रधानमन्त्री बोरिस जोनसोनले भारतको यात्रा रद्द गरेका छन् । कोरोना संक्रमण भारतमा तीव्र रुपमा फैलिएपछि यो निराशाजनक निर्णय गर्न पुगेको उनले बताएका छन् । 

आगामी साता निर्धारित भारत यात्रा स्थगित  गर्नु नै समझदारी रहेको  प्रधानमन्त्री जोनसोनले उल्लेख गरेका छन् । 

उनले बेलायत– भारतको साझेदारीका लागि योजना अघि बढाउन यही महिनाको अन्त्यसम्ममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी गर्ने र साक्षात्कार गर्ने सम्भावना रहेको बताए । 

हङकङले समेत भारतबाट जाने उडान मंगलबारदेखि आगामी तीन मेसम्मका लागि स्थगित गरेको छ । तीव्र संक्रमणका बीच यो निर्णय लिइएको हङकङ प्रशासनले जनाएको सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।