धरान। धरानको पर्यटन प्रवद्र्धनका लागि काम गरिरहेको धरान होलिडेज प्रालिले नयाँ वर्ष २०७८ को अवसरमा दिनको एक सय रुपैयाँमा धरानदेखि पाथीभरा मन्दिरसम्मको हेलिकप्टर यात्रा गराउने योजना ल्याएको छ ।

पाथीभरा मन्दिर तीर्थयात्रामा जान चाहने दर्शनार्थीलाई दुई वर्षअघिदेखि हेलिकप्टर सेवा प्रदान गर्दै आएको धरान होलिडेजले यसपटक दैनिक एक सय रुपैयाँ जम्मा गर्नेहरूलाई हेलिकप्टरमा पाथीभरा मन्दिर पु¥याउने र ल्याउने योजना ल्याएको हो ।

त्यसका लागि धरानका कुनै सहकारीमा सदस्य रहेका व्यक्तिले उक्त सहकारीमा हेलिकप्टरमा पाथीभरा जाने जानकारी गराएमा सहकारीले पैसाको व्यवस्थापन गरिदिने र सहकारीलाई दैनिक सय रुपैयाँ किस्ता बुझाउन सकिने व्यवस्था मिलाइएको धरान होलिडेजका सञ्चालकमध्ये एक कुन्दन श्रेष्ठले जानकारी दिए । उनले भने, ‘हिँडेर पाथीभरा जान नसक्ने, तत्काल पैसा नभएका तर पाथीभरा जान इच्छा हुने सबैलाई सुविधा होस् भनेर सहकारीहरूसँग समन्वय गरी यस्तो योजना ल्याएका हौं ।’

धरान–पाथीभरा हेलिकप्टर यात्राका लागि २९ हजार ९ सय ९९ रुपैयाँ भाडा तोकिएको छ । एकमुष्ठ रकम नहुनेहरूले सहकारीमा दैनिक सय रुपैयाँ वा मासिक दुई हजार पाँच सयका दरले किस्ताबन्दीमा उक्त भाडा तिर्न सक्ने र त्यसमा सहकारीले कुनै ब्याज नलिने व्यवस्था गरिएको सञ्चालक श्रेष्ठले बताए ।

सहकारीले पर्यटन क्षेत्रमा समेत काम गर्न सक्ने व्यवस्था रहेकाले सहकार्य गरिएको उनले बताए । हेलिकप्टर यात्रामा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सुरक्षित तरिकाले हेलिकप्टर सञ्चालन गरिने श्रेष्ठले बताए ।

आगामी वैशाख ५ गतेबाट धरानबाटै पाथीभरा मन्दिरसम्मको हेलिकप्टर उडान सुरु गर्न लागेको धरान होलिडेजले यसअघि २०७६ को वैशाखमा पनि धरान–पाथीभरा उडानसँगै धरान, भेडेटारलगायतका क्षेत्रमा ‘फन फ्लाइ’ सञ्चालन गरेको थियो । त्यसबेला तीन महिनामा १२ सय जनाले हेलिकप्टर सेवा लिएको अर्का सञ्चालक त्रिरत्न अधिकारीले बताए । उनी भन्छन्, ‘हामीले हेलिकप्टर सञ्चालन गर्दा प्रदेश १ का मात्र होइन, काठमाडौं, पोखरादेखिका मान्छेपनि पाथीभरा जानका लागि धरान आउँछन् । यसले धरासायी बनेको अर्थतन्त्रलाई चलायमान बनाउन पनि मद्दत गर्छ ।’

उनले लामो समय धरानमा हेलिकप्टर रहँदा यहाँ कोही बिरामी भएर तुरुन्तै काठमाडौं पु¥याउनु पर्ने अवस्था आए पनि सेवा प्रदान गर्ने गरिएको बताए । उनले धरानमा हेलिप्याडको भने समस्या रहेको बताउँदै जहिले पनि आवश्यक पर्न सक्ने हेलिप्याड बनाउन स्थानीय सरकारले चासो दिनुपर्ने बताए ।

कुन्दन, त्रिरत्नसँगै अमृत मानन्धर र अजय खनालसमेत चार जना मिलेर सञ्चालन गरेको धरान होलिडेजले प्रदेश १ मा पर्यटनको प्याकेज बनाएर विभिन्न काम गर्ने उद्देश्य लिएको छ ।