धरान। धरान उपमहानगरपालिका वडा नं. ४ को तेलनपुरमा होम–स्टे सञ्चालन गरिने भएको छ ।

वडा कार्यालयले होम–स्टे सञ्चालनको तालिम दिएपछि स्थानीयहरू होम–स्टे सञ्चालन गर्न तयार भएका हुन् । तालिमपछि जित मगरको अध्यक्षतामा तेलनपुर सामुदायिक होम–स्टे सञ्चालन समिति गठन भएको छ ।

समितिमा उपाध्यक्षमा गुजेश्वरी मगर, सचिव डिल्लीश्वर मगर, कोषाध्यक्ष रूपा मगर तथा सदस्यहरूमा खड्ग मगर, बलबहादुर मगर र हरिकुमार मगर चयन भएका छन् । यो मगर समुदायको बसोबास रहेको क्षेत्र हो । 

सोमबार स्थानीयलाई आन्तरिक पर्यटन पुनरुत्थान समिति प्रदेश १ का सह–संयोजक वासुदेव बराल र होम–स्टे एशोसिएसन नेपाल (होसान) प्रदेश नं. १ की सल्लाहकार एलिना मगरले होम–स्टे सञ्चालनसम्बन्धी प्रशिक्षण दिएका छन् । 

मगरहरूको मात्र बसोबास रहेको तेलनपुरमा भर्खरै सडक पहुँच पुगेको छ । उनीहरूले पर्यटकहरूलाई मौलिक संस्कृति र हुर्रा नाच देखाउने गरी तयारी गर्ने भएका छन् ।

तेलनपुर पुग्न अहिले धरान भेडेटार नाम्जे कन्यापोखरी हुँदै जानु पर्दछ । तर, धरानबाट सिधै पुग्न सकिने गरी बाटो स्तरोन्नतीकरण भइरहेको सो वडाका सदस्य गोरसमान मगरले जानकारी दिए । 

स्थानीयका अनुसार त्यहाँ रहेको गुफा पर्यटकका लागि आकर्षणको केन्द्र हुन सक्नेछ । सो ठाउँमा एउटा गुफा रहेको उनीहरूले बताए । गुफा ठूलो भएको र त्यहाँभित्र आश्चर्यजनक आकृतिहरू रहेको स्थानीय गुज्जेश्वरी मगरले जानकारी दिइन् ।