मोरङको जहदा गाउँपालिका–१ मा ११ वर्षीया बालिकामाथि भएको बलात्कार प्रयासको घटना गाउँमै मेलमिलाप गराएको आरोपमा पक्राउ परेका दुई जना धरौटीमा रिहा भएका छन् । 

मोरङ अदालतका न्यायाधीश रोशनकुमार भट्टराईको इजालशले मोरङ जहदा गाउँपालिका १ धुनी बस्तीका बौका भन्ने पर्शुराम सरवरिया र सोही ठाउँका मिथिलेश भन्ने सानदेव सरवरिया जनही १–१ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएका हुन् ।

बलात्कारको घटना गाउँमै मिलाएको आरोपमा पक्राउ परेका पर्शुराम र बुधबार अदालत उपस्थित भएका मिथिलेशलाई अदालतको आदेशपछि धरौटीमा छाडिएको मोरङ अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले जानकारी दिए । 

सोही मुद्दामा बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका जहदा गाउँपालिका १ का ४५ वर्षीय बोज भनिने राजेन्द्र सरबरिया मोरङ अदालतका आदेशपछि पुर्पक्षको लागि थुनामा गएका छन् ।

बालिका बलात्कार प्रयास गरेको आरोपमा राजेन्द्र र मिलापत्र गराएको आरोपमा पर्शुरामलाई इलाका प्रहरी कार्यालय रानी विराटनगरले पक्राउ गरेको थियो । यस घटनामा तीन जना प्रतिवादी भए पनि दुई जना पक्राउ गरेपछि मिथिलेश फरार थिए । प्रहरीले अनुसन्धान पूरा गरेपछि सरकारी वकिलको कार्यालयमार्फत् मिथिलेशलाई फरार प्रतिवादी बनाएर तीन जना विरूद्ध ‘जबरजस्ती करणी उद्योग’ मा मुद्दा दर्ता गराएको थियो ।

गत शुक्रबार मोरङ अदालतको आदेशले राजेन्द्रलाई थुनामा र पशुरामलाई धरौटीमा छाड्न आदेश दिएको हो । पर्शुराम धरौटीमा रिहा भएको पाँच दिनपछि फरार भएका मिथिलेश बुधबार अदालत हाजिर भएका थिए ।

फागुन ६ गते ४ बजेको समयमा राजेन्द्रले घरनजिकको मकै बारीमा लगेर ती बालिकालाई बलात्कारको प्रयास गरेको आरोप छ । जबरजस्ती करणी गर्न खोजेको अदालतमा दायर भएको अभियोग पत्रमा उल्लेख छ । 


ती बालिकामाथि सरबरियाले बलात्कारको प्रयास गरेपछि न्यायको लागि पीडित बालिकाकी हजुरआमाले गाउँका भद्रभलादमी मानिने जहदा गाउँपालिका १ का मिजलेश भनिने शानदेव सरबरिया र बौका भनिने पर्शुराम सरबरियासँग हारगुहार गरेका थिए । तर, उनीहरूले यस्तो घटना गाउँमा मिलापत्र गराउनुपर्ने भन्दै पीडित परिवारलाई एक सातासम्म प्रहरी कार्यालय जान नदिई गाउँमै मिलाउने प्रयास गरेका थिए ।

उनीहरूबाट न्याय नपाउने भएपछि पीडित बालिकाको हजुरआमाले गाउँलेको सहयोगमा इलाका प्रहरी कार्यालय रानी विराटनगरमा १२ फागुनमा उजुरी दर्ता गराए । प्रहरीमा उजुरी दर्ता गराएको तीन दिनपछि इप्रका रानीले जबरजस्ती करणीको प्रयास गरेको उद्योगमा राजेन्द्रलाई १४ फागुनमा पक्राउ गरेको थियो  । प्रहरीले उनलाई भारतदेखि पक्राउ गरेर ल्याएको थियो ।