म्यानमारमा  सरकार विरोधी प्रदर्शन बढ्दै जाँदा सैन्य सरकारले नागरिक माथि दमन बढाउँदै लगेको समाचार छ । 

सैनिक जवानहरुलाई गोली चलाउन छुट दिएपछि दैनिक सर्वसाधरणहरु मारिएका छन् । सरकारको विरोधमा उत्रेकाहरुलाई घरभित्र पसेर सेनाले नियन्त्रणमा लिइरहेको स्थानीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् । 

माघ १९ गतेको ’सैन्य कू’ पछि म्यानमारमा दैनिक जुन्ता सरकारविरुद्ध विरोध प्रदर्शन भइरहेको छ । सेना र प्रहरीसँगको मुठभेडमा सयौं प्रदर्शनकारीको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा बालबालिका समेत रहेका छन् । 

अमेरिकाले ’आतंकको शासन’ चलाइरहेको भनेको जुन्ता सरकारले नागरिकमाथि हवाई आक्रमण गरेको छ। थाइल्यान्डसँग सीमा जोडिएको क्षेत्रमा सेनाले गत शनिवारदेखि हवाई आक्रमण गर्दा हजारौं मानिस शरण लिन थाइल्यान्ड पुगेका छन्।

आदिवासी करेनहरु बसोबास गर्ने स्थानमा सेनाले आक्रमण गरेको हो। जसकारण करिब ३ हजार मानिस सालविन नदी हुँदै थाइल्यान्ड पुगेको र सयौं मानिस म्यानमारको जंगलमा लुकेरको बस्न बाध्य भएका छन्।

सेनाको आक्रमणका कारण उक्त क्षेत्रमा कयौं घरहरु ध्वस्त भएका छन् भने बालबालिकासहित केहीको मृत्यु भएको छ।

करेन लडाकू समूहले स्वतन्त्रता माग गर्दै आइरहेका छन्। अहिले सेनाले सत्ता आफ्नो हातमा लिएको बेला समुदायलाई नै विस्थापित गर्ने गरि आक्रमण गरिएको हो। यसअघि म्यानमार सेनाले रोहिङ्गा समुदायमाथि पनि दमन गरेको थियो।