काठमाडौं । नेपाल र बङ्गलादेशबीच सोमबार चारवटा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी र बंगलादेशी समकक्षी मोहम्मद अब्दुल हमिदको उपस्थितिमा बङ्गलादेशको राष्ट्रपति कार्यालय, बङ्गबन्धु भवनमा सोमबार समझदारी पत्रहरुमा हस्ताक्षर भएको हो ।

दुई देशवीच पर्यटन सहयोग, सरसफाइ,  सांंस्कृतिक आदान–प्रदान र रोहनपुर–सिंहवाद रेलमार्गसम्बन्धी सझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव यादवप्रसाद कोइराला र बङ्गलादेशी नागरिक उड्डयन सचिव मोहम्मद मकामेल हुसेनले हस्ताक्षर गरेका छन् ।

त्यसैगरी समझदारीपत्रहरुमा नेपालका उद्योग, वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराई र बङ्गलादेशी वरिष्ठ कृषि सचिव मोहम्मद ममाहुल इस्लाम, सांस्कृतिक मामिला सचिव बदरुल आरेफिन र वाणिज्य सचिव मोहम्मद जफार उद्दिनले हस्ताक्षर गरेका छन् ।

राष्ट्रपति भण्डारी र समकक्षी हमिदबीच भेटवार्ता

समझदारीपत्रमा हस्ताक्षरअघि राष्ट्रपति विद्यादेवी भण्डारी र बङ्गलादेशी समकक्षी मोहम्मद अब्दुल हमिदबीच राष्ट्रपति भवनमा भेटवार्ता भएको थियो ।

भेटवार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, बङ्गलादेशका विदेशमन्त्री डा। एके अब्दुल, बङ्गलादेशका लागि नेपाली राजदूत डा। वंशीधर मिश्रलगायत दुवै देशका उच्चपदस्थ अधिकारी सहभागी थिए ।

भेटवार्तापछि राष्ट्रपति हमिदले सोही भवनमा आयोजना गरेको सांस्कृतिक कार्यक्रम र रात्रिभोजमा नेपाली भ्रमण टोली सहभागी भयो ।

बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका अवसरमा बङ्गलादेशी राष्ट्रपति हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबार बिहान ढाका पुगेकी हुन् ।

राष्ट्रपति भण्डारीले ढाकास्थित ‘नेशनल परेड स्क्वायर’मा आयोजित ‘नेपाल–बङ्गलादेश सम्बन्ध र बङ्गबन्धुको जन्म शतवार्षिकी’ विषयमा विशिष्ट अतिथिका रूपमा सम्बोधन गरेकी छिन् । 

सम्बाेधनअघि बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गरेकी थिइन् ।