विश्व कीर्तिमानी हिमाल आरोही मिङ्मा ग्याबु शेर्पालाई गृह जिल्ला ताप्लेजुङमा सम्मान गरिएको छ । 

जिल्लाको फक्ताङलुङ गाउँपालिका–६ लेलेप घर भएका शेर्पालाई स्थानीय रेडियो तमोरद्वारा आयोजित कार्यक्रममा आइतबार स्वागत तथा सम्मान गरिएको हो । 

मिङ्माले हिमाल आरोहणमा विभिन्न विश्व कीर्तिमान राखेर गिनिज बुकमा नाम लेखाएका छन् । हिउँदयाममा पहिलो पटक विश्वको दोस्रो अग्लो केटू हिमालको आरोहण गरेर पछिल्लो पटक कीर्तिमान कायम गरेका छन् । 

गत पौष अन्तिम हप्ता मिङ्मासहित १० नेपालीको टोलीले खतरनाक मानिने उक्त हिमालको सफल आरोहण गरेर विश्वको ध्यान खिचेका थिए । ६१ दिनको फरकमा सगरमाथा तथा केटू हिमाल आरोहण गरेर छोटो समयमा ती दुई हिमाल आरोहणको कीर्तिमान समेत मिङ्माको नाममा छ । 

विश्वका ८ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गर्ने सबैभन्दा कान्छा आरोहीको कीर्तिमान पनि उनले नै बनाएका छन्  । 

सन् २०१० मा सगरमाथा चढेका मिङ्माले सन् २०१९ मा अन्तिम हिमालका रूपमा तिब्ब्तको सिसापाङमा हिमालको आरोहण गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेन, उपप्रमुख देवीमाया नेपाली, फक्ताङलुङ गाउँपालिका प्रमुख सरोज एभेङ, फुङलिङ नगरपालिकाका उपमेयर बमबहादुर भट्टराईलगायत होटल व्यवसायी, पर्यटन व्यवसायीले सम्मान गरेका हुन् । 

गृह जिल्लामा सम्मानित हुन पाउँदा खुसी लागेको उनले बताए । कार्यक्रममा नेपाल माउण्टेन एकेडेमीकी प्रमुख लाक्पाफुटी शेर्पाले राज्यले हिमाल चिन्न सके समृद्धि टाढा नरहेको बताइन् । 

शेर्पालगायतको टोली गत फागुन १८ गते मेरिङ्देन गाउँपालिकामा पर्ने दोभान बजारमा भएको आगलागीबाट प्रभावित परिवारलाई राहत दिन गृह जिल्ला ताप्लेजुङ आएका थिए ।