ब्लाष्टखबर ।   इक्वेडरमा  जेलका कैदीबीच भएको दङ्गामा परी कम्तीमा ७५ जनाको मृत्यु भएकाे छ ।  मंगलबार पश्चिमी बन्दरगाह शहर ग्वायाकिलमा रहेको एक जेलसहित  अन्य २ जेलमा  कैदीबीच भएको दङ्गामा  ७५ व्यक्तिको मृत्यु हुनुको साथै अन्य कयौं घाइते भएका छन्। 

इक्वेडरका राष्ट्रपति लेनिन मोरेनोले ट्विटरमा तीन वटा जेलमा एकसाथ भएको यस हिंसामा आपराधिक संगठनको हात रहेको आरोप लगाएका छन्। जेलमा पुनः नियन्त्रणको लागि प्रहरी अधिकारीहरूले काम गरिरहेको मोरेनोले बताएका छन्।

उक्त विद्रोह रोक्न प्रहरीको सहयोग गर्न सेनालाई पनि खटाइएको उनले बताएका छन्। मानवअधिकारवादी संस्थाले यस हिंसालाई ‘अभूतपूर्व नरसंहार’ को संज्ञा दिदै मुलुकमा सुरक्षाको अभावमा चिन्ता व्यक्त गरेको बताइएको छ। रासस/एएफपी