विजयपुर। मोरङको केराबारी–३ शाहीडाँडामा वनस्पति विज्ञान अनुसन्धान केन्द्र सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । 

वनस्पतिजन्य अध्ययन केन्द्र २ जना युवाहरू स्वर्णिम कार्की र सञ्जय तामाङले सञ्चालनमा ल्याउन लागेका हुन् । केन्द्रमा विश्वका धेरै देशहरूमा पाइने जडिबुटीजन्य वनस्पति पाइने सञ्चालक सञ्जय तामाङले जानकारी दिए । उनले केन्द्र वनस्पति विज्ञान अध्ययन गर्ने विद्यार्थीहरूलाई ध्यान दिएर वनस्पतिजन्य उद्यान सञ्चालनमा ल्याएको बताए ।

केन्द्र वनस्पति विज्ञान अध्ययन गर्ने विद्यार्थीहरूलाई उपयोगी र महŒवपूर्ण हुने बताए । प्रदेश १ मा यो केन्द्र नै पहिलो भएको सञ्चालकद्वयले बताएका छन् । उनीहरूले नेपालमा नै पनि पहिलो हुनसक्ने दाबी गरेका छन् । केन्द्र १ करोड लगानीमा सञ्चालनमा आएको हो । 

केन्द्रमा श्रीखण्ड, मेरी फल, रक्तचन्दन, विजयसाल, सतीसाल, ड्रागन फल, एउटै दानो १ केजीको फल्ने बेल, अम्बा, मलेसियन लिच्ची, थाई लिच्ची, दाना नभएको लिच्ची, कटहर, बाह्रमासे काभ्राहाङ, अनारस, १६ प्रजातिका अनार, २० प्रजातिको आँप, हट मसला, तेजपत्ता, दालचिनी, लहरे आँप, ५ प्रजातिको नरिवल, मरिच, ल्वाङ, जाइदाना, कालोसहित ५२ प्रजातिको गुलाफको फूल, हलेदो, फलेदो ९ प्रजातिको कागती, भोगटे, स्याउ, सुन्तला, नासपाती, बाह्रमासे कटहरलगायत धेरै प्रजातिका वनस्पतिहरू रहेको बताएको छ ।

वनस्पतिको बिउ र बिरुवा थाइल्याण्ड, फिलिपिन्स, कोरिया, इण्डोनेसिया, कम्बोडिया, जर्मनलगायतका मुलुकबाट ल्याइएको हो । अनुसन्धानका लागि विद्यार्थीहरूलाई प्याकेजमा खाना तथा बस्नको व्यवस्था रहेको सञ्चालकले जनाएको छ । अनुसन्धानमा आउन तथा अन्यलाई पनि खाना तथा बस्ने व्यवस्था रहेको छ । 

अनुसन्धान केन्द्रमा नेचुरल थेरापी तथा अनुसन्धान केन्द्र पनि निकट भविष्यमा सञ्चालन गरिने बताइएको छ । केन्द्रमा थेरापीसम्बन्धी तालिम पनि दिइने बताइएको छ । माटो तथा विभिन्न जडिबुटीको तेलबाट मसाज गरिनेछ । उक्त केन्द्रमा अध्ययनका लागि आउने अनुसन्धानकर्तालाई जडिबुटीको महŒवबारे पनि जानकारी हुने सञ्चालकद्वयले बताएका छन् । केन्द्र फागुन १ गतेदेखि सञ्चालनमा आउने बताइएको छ ।