इटहरी। रामधुनी नगरपालिकास्थित कुमारखत सामुदायिक वन क्षेत्रमा पर्ने रमणीय जुडी सिमसार क्षेत्र पर्यटकीय गन्तव्य बन्न थालेको छ । सामुदायिक वन उपभोक्ता समिति र स्थानीय समुदायले सिमसार क्षेत्रलाई थप आकर्षक बनाएपछि घुमघाम गर्नेहरुका लागि नयाँ गन्तव्यस्थल बनेको हो । 

सखुवाको जङ्गलले घेरिएको पोखरी प्रकृतिले दिएको वरदान सावित भएको छ । रुखमा फलाम, काठले बनाएको ट्रीहाउसको आकर्षण बेग्लै छ । इटहरी उपमहानगरपालिका र रामधुनी नगरपालिकाको सिमानामा रहेको जुडी सिमसार आजभोलि स्थानीय तथा आन्तरिक पर्यटकहरूले भरिभराउ हुने गरेको छ । मनोरम एवम् प्राकृतिक सौन्दर्यले भरिपूर्ण जुडी सिमसारलाई थप प्रचार गर्न सामुदायिक वन उपभोक्ता समूह प्रयासरत रहेको छ ।

कुमारखत सामुदायिक वनका अध्यक्ष चिरञ्जीवी भट्टराईले भने, ‘जङ्गलको ब्ीचमा पोखरी भएकाले त्यहाा रहेका झाडीलाई सफा गरेर रमणीय बनाएका हौं । रुखहरूमा रङरोगन गरिएको छ । सहरको कोलाहललाई छिचोल्दै तरहराबाट ३ किलोमिटरभित्र पसेपछि पुगिने जुडी सिमसार क्षेत्र अहिले पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न लागिपरेका छौं ।’ उनका अनुसार जुडी सिमसारमा पदमार्ग, सडकमार्ग र अन्य भौतिक पूर्वाधार निर्माण गरेपछि आन्तरिक पर्यटक आउन थालेका छन् । 

उनले खोजीनीति नहुँदा जुडी सिमसार लामो समय गुमनाम थियो । सामुदायिक वन र वन विभागको सहयोगले जुडी सिमसार थप आकर्षक भएको भट्टराईले बताए । जुडी सिमसारलाई छिट्टै सुनसरीकै नमुना गन्तव्यको रूपमा स्थापित गर्ने लक्ष्य रहेको उनको भनाइ छ । दुईवर्ष अगाडिदेखि यो क्षेत्रलाई व्यवस्थापन गर्न लागिएको थियो । एक वर्षअगाडि मात्र १३ लाख रुपैयाँ लागतमा आकर्षक ट्रीहाउस निर्माण गरेपछि पर्यटकहरूमा थप आकर्षण बढ्न थालेको उनले बताए ।

थप ३० लाख रुपैयाँ लागतमा जुडी सिमसार क्षेत्रमा वनभोजस्थल बनाउन सुरु गरिएको छ । वन विभागले बाटो निर्माणमा ब्लक लगाइदिएको छ भने केही थान मोटरबोट पनि उपलब्ध गराइसकेको छ ।  ‘जुडी’ को अर्थ थारु भाषामा ‘चिसोपानी’ भन्ने हुन्छ । चिसोपानी भएको कारण यसलाई जुडी नामकरण गरिएको हो । सिमसार क्षेत्र अवलोकन गर्न दैनिक २ सय जनासम्म आउने गरेको वनका अध्यक्ष भट्टराईले बताए । 

स्थानीय गोविन्द थापाले जुडी सिमसारलाई सरकारी पक्षबाट लगानी भए सुनसरीकै उत्कृष्ट हुन सक्ने दाबी गरे । पछिल्लो समय पर्यटकहरूको आवत–जावत बढ्दै गएको उनले बताए । उनले सिमसार क्षेत्रलाई आकर्षक पर्यटकीयस्थल बनाएर स्थानीय समुदायको आन्तरिक आय वृद्धि गर्न स्थानीय र सङ्घीय सरकारले बजेट दिए जिल्लाको प्रमुुख पर्यटकीय स्थल बन्न सक्ने दाबी गरे ।