इटहरी। सुनसरी–मोरङको सिमानामा पर्ने बूढीगङ्गा किनारमा रहेको वृन्दावन गौशालाले पर्यटकहरूलाई आकर्षित गर्न थालेको छ । हिन्दु धर्मावलम्बीहरूको आस्थाको केन्द्र अहिले पर्यटकीय क्षेत्रको रूपमा समेत विकास हुन थालेको हो । जहाँ दैनिक सयौंको सङ्ख्यामा पर्यटकहरू आउने गरेका छन् ।  

राधा र कृष्ण लीलाको पुण्यभूमिको दर्शन गर्न प्रत्येक वर्ष हिन्दु धर्मावलम्बी नेपालीहरू भारततर्फ जाने गर्दछन् । तर, अहिले कृष्णको वृन्दावन गौशालामा सबै ठाउँहरूलाई सचित्ररूपमा दर्शाउने गरी मोरङ सुन्दरहरैंचा–५ मा निर्माण भएपछि धर्मावलम्बीहरू त्यहाँ पुग्ने गरेका छन् ।

द्वापरयुगमा श्रीकृष्णले आफ्नो कृष्णलीला देखाएको पवित्र तीर्थस्थल वृन्दावन गौशालालाई सचित्ररूपमा जस्ताको त्यस्तै निर्माण गर्ने अभियानले पूर्णता लिँदै गएको संस्थाका संरक्षक दीनबन्धु शास्त्री महाराजले बताए । बूढीगङ्गा नदीको किनारमा ऐतिहासिक पृष्ठभूमिको आधारमा देशकै नमुना धार्मिकस्थल बनेको उनको दाबी छ ।

चार कठ्ठा जग्गाबाट निर्माण सुरु गरिएको गौशाला अहिले ७ बिगाहा क्षेत्रमा फैलिनुका साथैविभिन्न मठ मन्दिरहरूको निर्माण गरिएको छ । नेपालकै ठूलो राधाकृष्णको मन्दिर १ सय २९ फिट लम्बाइ ८६ फिट चौडाइ गरी मन्दिर एक हजार तीस वर्ग मिटर क्षेत्रफलमा फैलिएको छ । विभिन्न धार्मिक अनुष्ठानहरू गर्न सकिने गरी मन्दिर निर्माण गरिएको शास्त्री बताउँछन् ।

यसका अलावा वृन्दावन गौशाला क्षेत्रमा श्रीकृष्णले गरेका विभिन्न कार्यहरूलाई सचित्र निर्माण गर्ने प्रयास गरिएको छ । प्रत्येक वर्ष भारतको वृन्दावनमा धार्मिक यात्रा गर्न जाने व्यक्तिहरूको लागि आफ्नै देशमा यात्रा गर्न सहज हुने गरी देशकै एक धार्मिक पर्यटकीयस्थलको रूपमा विकास गरिँदै आएको शास्त्रीले बताए । ‘हामी यो क्षेत्रलाई देशकै उत्कृष्ट पर्यटकीयस्थल बनाउन लागेका छौं’ उनी थप्छन्, ‘यस क्षेत्रमा गाईपालन गर्न गौशाला पनि निर्माण गरिएको छ ।’

वृन्दावनको निर्माणले यस क्षेत्रका स्थानीयहरू पनि खुसी छन् । पहिले खोला किनार झाडीले भरिएको क्षेत्रमा मठमन्दिरहरूको निर्माण भएपछि सबैको आकर्षणमा पर्ने गरेको छ । धार्मिक यात्रामा भारत जाने व्यक्तिहरूलाई आफ्नै देशमा भ्रमण गर्दा सहज पनि हुने स्थानीयको भनाइ रहेको छ ।

वृन्दावन गौशालाको निर्माणले यस क्षेत्रमा ठूलो विकासको सम्भावना देखिएको छ । यसका लागि स्थानीय निकाय तथा सरकारले चासो दिएर संरक्षण तथा सम्बद्र्धनमा पहल गर्न आवश्यक छ । शास्त्रीले विश्वकै अग्लो गाईको प्रतिमा पनि निर्माणाधीन रहेकोले सो ऐतिहासिक र आलौकिक रहेको समेत जानकारी गराए ।

new-brindaban