विराटनगर / उपभोक्तामाथि गम्भीर खेलवाड गर्दै मोरङको कटहरी गाउँपालिका–२ मा रहेको अंश घरेलु उद्योगले दुई वर्षअगाडि म्याद सकिएको र्यापर (खोल) भित्र खाद्यवस्तु राखेर बिक्रीवितरण गर्ने गरेको पाइएको छ । 

उद्योगका सञ्चालक कमाउ धन्दामा लाग्दा म्याद सकिएको र्यापरमा नयाँ मिति उल्लेख गरी खाद्यवस्तु बिक्रीवितरण गर्ने गरेको पाइएको हो । दूधमा हालेर खाजाको रूपमा खाने ‘सेवई’ उक्त उद्योगले दुई वर्षअगाडिको मिति उल्लेख भएको र्यापरमा नयाँ लेबल गरेर बजारमा पठाउने गरेको अनुगमनको क्रममा भेटिएको छ । सेवई मुस्लिम सामुदायले बढी मात्रामा बकर इदमा खाने गरेका छन् ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले बुधबार गरेको अनुगमनको क्रममा अंश उद्योगले २०७५ सालको र्यापरमा ‘सेवई’ नामको खाद्यवस्तु २०७७ सालको नयाँ मिति उल्लेख गरेको लेवल भेटिएको हो । खाद्यवस्तु सवई र यस बाहिरको खोलको आयु १२ महिनाको हुने गरेको छ । तर, उक्त उद्योगले दुई वर्ष पुरानो म्याद सकिएको खोल प्रयोगमा ल्याउने गरेको भेटिएको हो ।

म्याद सकिएको खोलमा खाद्यवस्तु हालेर प्रयोग गर्दा स्वास्थ्यमा असर पु¥याउने चिकित्सकहरूको भनाइ छ । ‘उद्योगले अनुचित व्यापारिक क्रियाकलाप गरेको अनुगमनको क्रममा भेटिएको छ’ वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख सन्तोष पोखरेलले भने, ‘पुरानो खाद्यवस्तुको खोलमा नयाँ मिति उल्लेख गरी बजारमा पठाउने गरेको भेटिएको हो । उद्योगले मूल्य र ब्याच नम्बर पनि परिवर्तन गरी नयाँ लेवल लगाएको अनुगमनको क्रममा भेटियो ।’ उद्योगले अनुचित व्यापारिक क्रियाकलाप गरेको भेटिएपछि उपभोक्ता संरक्षण ऐनअनुसार कारबाहीको दायरामा ल्याएको उनले जानकारी दिए ।

अंश घरेलु उद्योगले उपभोक्ता संरक्षण ऐन २०७५ को ३८ ङ बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेको पाइएको छ’ उनले भने, ‘सोही ऐनको दफा ३९ ख बमोजिम उद्योगलाई २ लाख रूपैयाँ जरिबाना गरिएको छ ।’

उद्योगले सेवईको एमआरपी मूल्य र थोक बिक्री गर्ने मूल्य अस्वभाविक अन्तर देखिएकोले तत्काल सुधार गर्न पनि वाणिज्य कार्यालयले निर्देशन दिएको छ । सो उद्योगले दुई वर्ष पहिले नै म्याद सकिएको र्यापरभित्र नयाँ मिति उल्लेख गरी सेवई हालेर बजारमा बिक्री वितरण गर्ने गरेको वाणिज्य विभागमा उजुरी परेपछि अनुगमन गरेको हो । यता अंश घरेलु उद्योगका सञ्चालक लक्षुमनप्रसाद रौनियार (गुप्ता) ले आफूबाट गल्ती भएको स्वीकार गरेका छन् ।

‘खाद्यवस्तुमा हाल्ने पुरानो र्यापिङ स्टक रहेको थियो’ उनले भने, ‘खेर जान नदिन पुरानो खोल युजमा मात्र ल्याएको हो ।’ सात वर्षअगाडिदेखि सञ्चालनमा ल्याएको उद्योगमा सेवई र थुक्पा उत्पादन हुने गरेको छ ।

math-sakako-khol