धरान । मृगौला पीडित २५ वर्षीया सानुसा लावतीको उपचार सहयोगार्थ याक्थुङ सिङ्गक फाउन्डेसन र आर स्क्वायर कलेक्सन बुटिक, धरानले संकलन गरेको ३ लाख ८१ हजार २ सय १३ रुपैयाँ रकम हस्तान्तरण गरिएको छ ।

मोरङको मिक्लाजुङ गाउँपालिका–५ घर भई हाल झापा बस्दै आएकी लावतीको उपचारमा समस्या भएपछि याक्थुङ सिङ्गक फाउन्डेसन र आर स्क्वायर कलेक्सनले केही महिनायता सहयोग अभियान सञ्चालन गरेका थिए । बेलायत, अमेरिका, जापान, कोरिया, पोर्चुगल, हङकङ, मलेसिया, साउदी अरब, बेल्जियम लगायतका देशमा रहेका मनकारीले पठाएको सो रकम बिहीबार धरानमा एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो ।

अभियानकर्मीका तर्फबाट याक्थुङ सिङ्गक फाउन्डेसनकी अध्यक्ष तथा गीतकार मिना सिङ्गक, आर स्क्वायर कलेक्सन बुटिककी सञ्चालिका तथा अभिनेत्री रेखा लिम्बु, होप धरानका अध्यक्ष निश्चलमोहन पलिखे, मिस्टर धरान २०६८ दिनेश सिङ्गक र ओलिभ क्याफेका म्यानेजर तथा फाउन्डेसनका सदस्य डम्बर सिङ्गकले सहयोग रकम लिम्बु विद्यार्थी मञ्चका केन्द्रिय उपमहासचिव प्रदीप नेयोङ, केन्द्रिय उपाध्यक्ष राजेश इवाहाङ र केन्द्रिय सदस्य सेमी तुम्वापोलाई हस्तान्तरण गरेका हुन् । 

मृगौला पीडित लावती झापाको दमक बहुमुखी क्याम्प्समा बिबिएस चौथो वर्षमा अध्ययनरत छिन् । उनी लिम्बुवान विद्यार्थी मञ्च झापाकी जिल्ला उपाध्यक्ष समेत रहेकीले मञ्च मार्फत सहयोग हस्तान्तरण गरेको अभियानकर्ता याक्थुङ सिङ्गक फाउन्डेसनकी अध्यक्ष मिना सिङ्गकले जानकारी दिईन् ।