इनरुवा । इनरुवा नगरपालिकाको कार्यालयले स्मार्ट डस्कविन प्रयोगमा ल्याएको छ । नगरपालिकाको कार्यालयले सेवाग्राहीका साथै कार्यालय आउजाउ गर्नेलाई लक्षित गरी स्मार्ट डस्टविन प्रयोगमा ल्याएको हो । 

कार्यालय हातामा राखिएको स्मार्ट डस्कविन बहुउपयोगी रहेको सूचना अधिकृत निरज पोखरेलले बताए । सोलार सिस्टमको उक्त डस्कविनको विशेषता भनेको एकै स्थानमा विविध सुविधाको उपलब्धता हुनु रहेको पोखरेलले बताए । 

नगर प्रमुख राजन मेहताका अनुसार ज्वरो मापनका साथै स्वचालित सेनिटाइजरको व्यवस्था भएको स्मार्ट डस्कविनमा एकैसाथ दुई मोबाइल चार्ज समेत गर्न सकिने छ । सेवाग्राहीको लागि उक्त सेवा उपलब्ध रहने उनले बताए ।

त्यसका साथै स्मार्ट डस्कविनमा रहेको डिजिटल डिसप्ले मार्फत नगरका सूचना नगरवासीको हकमा सार्वजनिक गरिने मेहताले बताए । 

नगरपालिकाको सूचना शाखाले दिएको जानकारी अनुसार डस्टविनमा छुट्टाछुट्टै तवरले कुहिने र नकुहिने फोहोर समेत भण्डारन गर्न मिल्ने स्थान रहेको छ ।

कार्यालय हाता भित्र सेवाग्राही लगायतको हकमा फोहोर एकत्रित गर्ने  बानीको बिकास गराइदा नगरपालिका क्षेत्र सफा हुने उसको ठहर छ । 

संकलित फोहोर भण्डारण गरिएको डस्कविन भरिएमा त्यस बारेको जानकारी समेत मोबाइलमा उपलब्ध हुने भएकाले व्यवस्थापनमा समेत सहज हुने कार्यालयको ठहर छ ।