झापा । झापाको बिर्तामोड–५ को रामजानकी कृषि सहकारी संस्थाले आर्थिक बर्ष २०७६/७७ मा कुल मुनाफा करकट्टि अघि १६ लाख ३८ हजार ८५ रुपैयाँ ५३ पैसा गर्न सफल भएको छ । 

संस्थाले बिहिबार बिर्तामोडमा १२ औं वार्षिक साधारणसभा गर्दै  सो कुरा जानकारी दिएको हो । 

संस्थाले यस आवमा ५ हजार १ सय ८२ जना शेयर सदस्य पुर्याएको अध्यक्ष दलबहादुर कार्कीद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । 

३८ जना कर्मचारी रहेको संस्थाको कुल चुक्ता शेयरपुँजी १ करोड २२ लाख १८ हजार २ सय रुपैयाँ रहेको छ भने कुल बचत ९ करोड ४२ लाख ५१ हजार ६ सय ४७ रुपैयाँ ३९ पैसा साथै कुल ऋण लगानी १२ करोड १९ लाख ९६ हजार ९ सय ८७ रुपैयाँ १३ पैसा रहेको प्रतिवेदनमा छ ।

सभामा संस्थाका व्यवस्थापक शुक्रराज भण्डारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 

संस्थाका अध्यक्ष कार्कीको अध्यक्षतामा जिल्ला सहकारी संघ झापाका सचिव युवराज ढकालको प्रमुख आतिथ्यता रहेको थियो । स्वागत संस्थाका कोषाध्यक्ष जीवन सुवेदीले गरेको कार्यक्रममा गरामनी कृषि सहकारीका अध्यक्ष ताराप्रसाद चापागाईले  शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन संस्थाका उपाध्यक्ष भीमबहादुर थापाले गरेका थिए ।