धरान  /  उदयपुर र सुनसरीका पाँच युवाहरुको प्रयासमा उदयपुरको गाइघाटमा ‘बराह रौतामाई कृषि प्रालि’ सुरु भएको छ ।

आइतबारबाट सञ्चालनमा आएको कम्पनीमा पाँच युवाहरुले लगानी गरेका छन् । प्रालि कृष्ण भन्डारी, नारायण दाहाल, मनोज कार्की, राजन आचार्य र लोकबहादुर दाहालको संयुक्त लगानीमा सुरु भएको हो । लगानीकर्ता मध्ये नारायण उदयपुर कृषि सहकारी संस्थाका अध्यक्ष हुन् भने मनोज कृषि तथा पशु प्राविधिक हुन् । त्यस्तै लोकबहादुर हरिद्वार कृषि सहकारी संस्था, बराहक्षेत्र १का अध्यक्ष, कृष्ण र राजन लजेष्टिक कम्प्युटर उदयपुरका सञ्चालक हुन् ।

३० लाखको लगानीमा सुरु भएको कम्पनीमा कृषि सामग्रीहरु कुखुराको चल्ला कोरल्ने ह्याचिङ मेसिन, टनेल, थोपा सिंचाईका लागि चाहिने सामग्री, ट्याक्टर, मकै छोडाउने मेसिन लगायत आधुनिक उपकरणहरु शुलभ मूल्यमा बिक्री गरिने बताइएको छ । त्यस्तै पशु आहारामा मकैको पिठो, चोकर, बोईलर दाना, गाई, बंगुर र माछाका लागि आवश्यक दाना तथा अन्न, तरकारी र फलफुलको बिउविजन बिक्री गरिने प्रालिका अध्यक्ष कृष्ण भण्डारीले बताए । उनले भने, ‘किसानहरुलाई आवश्यक सामग्री किन्न टाढा जानु पर्ने समस्या समाधान गर्न र सुलभ मूल्यमा किसानलाई उपलब्ध गराउन कम्पनी खोलका हौं ।’