धरान/ प्रदेश १ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले तीन वर्षअघि नै विषादी अवशेष मापन उपकरण उपलब्ध गराउने आश्वासन दिए पनि हालसम्म नदिएको धरान–१३ स्थित कृषिउपज बजार व्यवस्थापन समितिले जनाएको छ । 

विषादी अवशेष मापन उपकरण दिने भनेर मुख्यमन्त्री शेरधन राईले कृषिबजारसमेत अवलोकन गरेका थिए । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्तासमेत रहेका राजेन्द्र उप्रेतीले प्रयोगशाला भवनको तस्बिर समेत खिचेर लगेका थिए । उपकरण पाउने आश्वासन पाएपछि बजार व्यवस्थापन समितिले आन्तरिकरूपमा ६ लाख रुपैयाँ र सङ्घीय सरकारबाट १० लाख रुपैयाँ गरी १६ लाख रुपैयाँको लागतमा भवनसमेत निर्माण गरेको थियो । तर, उक्त भवनमा राखिने भनिएको विषादी मापन उपकरण एक वर्षअघि विराटनगरमै राखिएपछि भवन खाली भएको हो । 

बजार व्यवस्थापक लक्ष्मण भट्टराईले भने, ‘दुई वर्षअघि यस बजारस्थलमा कृषिउपजमा हुने विषादी मापन गर्ने योजना प्रदेश नं. १ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा बजेट विनियोजन भएको थियो तर, उपकरण चाहिँ अहिलेसम्म प्राप्त भएको छैन ।’ धरानको कृषिबजारमै विषादी मापन गर्नसकेमा प्रतिबन्धित विषादी प्रयोग भएका र सरकारले स्वीकृत गरेका विषादी पनि अत्यधिक प्रयोग भएको पाइएमा त्यसलाई नियन्त्रण गर्न सकिने पनि भट्टराईले बताए ।

उनले विषादी मापन प्रयोगशालाबाट देखिने रिपोर्टलाई कृषकलगायत सबै सरोकारवालाबीच जानकारी दिने र कृषिउपजमा हुने विषादीलाई न्यूनीकरण गरी स्वस्थ तरकारी तथा फलफूल उपभाक्ततामाझ पु¥याउने योजनाअनुसार उपकरण राख्न खोजिएको बताए । 

बजार व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम कट्वालले प्रदेश सरकारले उपकरण दिने भनेपछि आफूहरू उत्साहित बनेको तर, दुईवर्ष बितिसक्दा पनि नपाएपछि निराश भएको बताए । उनले भने, ‘उपकरणका लागि ३० लाख रुपैयाँ बजेटसमेत विनियोजन भएको जानकारी दिए । हामी आफै किन्छौं भन्दा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका पदाधिकारीहरूले बोलपत्र आह्वान गरेर आफै खरिद गरिदिने बताएपछि ‘ठीकै छ’ भनेर सहमति पनि गरियो । तर, अहिलेसम्म उपकरण भने पाइएन ।’

प्रदेश नं. १ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ योजना अधिकृत पशुपति पोखरेलले धरानको कृषिबजारमा विषादी मापन उपकरण राख्न बजेट विनियोजन गरे पनि बजार व्यवस्थापन समितिकै ‘इन्ट्रेस्ट’ नदेखिएकाले बजेट नै फ्रिज भएको बताए । उनले भने, ‘यो आर्थिक वर्षमा नभए पनि अर्को वर्ष बजेट विनियोजन गर्न सकिनेछ ।’ उनका अनुसार उपकरणको मूल्य करिब २५ देखि ३० लाख रुपैयाँ पर्छ ।