धरान । धरानका होटल तथा होमस्टे सञ्चालकहरूलाई खाद्य स्वच्छता कायम गराउनेबारेमा धरानमा दुईदिने तालिम दिइएको छ ।
धरानका ३७ जना होटल व्यवसायी तथा सञ्चालकलाई तालिम दिइएको सहआयोजक सुनसरी उद्योग वाणिज्य संघका सदस्य रामस्वरुप शर्माले जानकारी दिए । उनका अनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय इनरुवाले कार्यक्रमको आयोजना गरेको थियो ।
तालिममा खाद्य स्वच्छता कायम गराउन अपनाउनुपर्ने विधि तथा खाद्य ऐन, नियमावली र खाद्य स्वच्छतासँग रहेका कानूनी कुराबारे पनि तालिममा जानकारी गराइएको थियो । डिभिजन प्रमुख काशिनाथ घिमिरेले खाद्य स्वच्छताका विधिहरूबारे जानकारी गराएका थिए । त्यस्तै केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारका उपप्राध्यापक बविता अधिकारीले खाद्य ऐन २०२३ अनुसार खाद्य वस्तुको लेवलिङसम्बन्धी जानकारी गराइन् ।
त्यसक्रममा होटलहरूमा अतिथि सत्कार (हस्पिटालिटी) बारे पनि जानकारी गराइएको उनले बताए । नवोदय कलेजका होटल म्यानेजमेन्टका सहप्राध्यापक गगन श्रेष्ठले हस्पिटालिटीका बारेमा जानकारी गराएका थिए । तालिममा सहभागीलाई प्रमाण पत्र समेत प्रदान गरिएको थियो ।