पाँचथर । टिप्ने बेला भएका सुन्तला बोटबाटै धमाधम झर्न थालेपछि पाँचथरका सुन्तला किसान निराश भएका छन् ।
पाँचथरका अधिकांस किसानले लगाएको सुन्तलामा यो वर्ष फल कुहिने समस्या देखिएको छ ।
पाँचथरको कुम्मायक गाउँपालिका–४ को रानीगाउँ र ५ को स्याबरुम्बा सुन्तला पकेट क्षेत्र हुन् । सुन्तलाबाटै स्थानीयले बर्षेनी लाखौं रुपैयाँ आम्दानी गर्दै पनि आएका छन । तर यो वर्ष सुन्तलामा देखिएको समस्याका कारण किसान अलमलमा परेका छन ।
कुम्मायकको रानीगाउँ, स्याबरुम्बा, फाल्गुनन्द गाउँपालिकाको आङ्सराङ, चिलिङ्देन, फाक्तेप, याङ्वरक गाउँपालिकाको नाँगी, थर्पु, फिदिम नगरपालिकाको नांगिन, याङ्नाम लगायत क्षेत्रमा सुन्तला बढी उत्पादन हुने गरेको छ । तर यो वर्ष सुन्तलामा देखिएको समस्याका कारण जिल्लाका किसान मर्कामा परेका छन ।
यता ज्ञान केन्द्र पाँचथर–ताप्लेजुङले औंसा प्रजातीको किराले फुल्ने र दाना लाग्ने समयमा अण्डा पार्ने भएकाले यस्तो समस्या देखा परेको जनाएको छ । कार्यालयका प्रमुख सागर बिष्टका अनुसार यसलाई निराकरण गर्न झरेका सुन्तला उमालेको तातो पानीमा लगाएर तीन फिटसम्मको खाल्डोमा हालेमा यसको संक्रमण कम हुन्छ । बिषेशगरी फुल फुल्ने र फल लाग्ने समयमा किसानले ध्यान दिनुपर्ने बिष्टको भनाइ छ । जिल्लामा ६ सय ६९ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुदै आएकोमा हाल बढाएर ६९१ हेक्टर क्षेत्रफलमा खेती भइरहेको कार्यालयले जनाएको छ ।